आज विभिन्न मिष्टान्न परिकारहरू बनाई दर खुवाइँदै एवम् खाइँदै छ।  भोलि बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने चलन प्राचीन काल देखि नै रहँदै आएको छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ आउने र दरको रूपमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका चौरासी व्यञ्जन मध्येका मिठा परिकारलाई दरको रूपमा खाने गर्दछन् ।

हरितालिका  तीजको दिन निराहार व्रत बस्नु पर्ने भएकाले सक्ती सञ्चय गर्नका लागि अघिल्लो साँझ पौष्टिक खानेकुरा खाने चलन रहेको हो। किनभने, हरितालिका तीजको दिन पानीसमेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ।

दर खाने समय र स्थान भने,  ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । तर आधुनिक युगको विकास  सँगै चाडपर्व मनाउने तौरतरिकामा पनि आकाश जमिनको फरक हुन थालेको छ।

पहिलेका दिनमा तीजको अघिल्लो  एक दिन मात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि तीज आउनु भन्दा एक महिना अगाडि देखिनै  विभिन्न दरखाने कार्यक्रमहरू आयोजना हुने गर्दछन्। यस्तो चलन केही वर्ष यता  राजधानी लगायत अन्य सहरी क्षेत्रमा मात्र देखिन्थे भने पहिले यो चलन गाउँ घरमा पनि व्यापक भएको  छ।

परापूर्व कालमा पार्वतीले शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको मनोकामना पूरा भएको धार्मिक किंवदन्तीका आधारमा अविवाहित महिलाहरू असल पति पाउन र विवाहित महिलाहरू श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसेर महादेवको पूजाआजा गरेर तीज मनाउने गर्छन् । 

दर कस्तो खाने, कसरी खाने, के खाने, के नखाने?

कम खाने 

नेपालीमा उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । दर शरीरले धान्ने गरी खानु पर्दछ । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ। जसले गर्दा व्रत लिन सकिँदैन । 

स्वच्छ खाने

राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्दछ। सकभर घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्दछ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दर उबारेर साँचेर कहिल्यै खान हुँदैन। 

भारी नखाने

दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ ।  माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको हुन्छ र यो  सकेसम्म नखाकै  राम्रो हो । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्दछ भनी खाद्य विशेषज्ञ शाश्वत राज पोख्रेलले बताएका छन्। उहाँ भन्नु हुन्छ " तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटमा  विभिन्न समस्या देखिन सक्छ र जसले व्रतमा वाधा पुर्‍याउन सक्छ एवमेव नुन धेरै भएको खाना खानाले प्यास धेरै लाग्छ र निर्जला व्रत बस्न सकिँदैन ।"

पोषिलो खाने

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ शाश्वत राज बताउनु हुन्छ। मधुमेह, रक्तचाप, ग्यास्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्दछ बरु  यस्ता रोगका बिरामीले सकभर निराहार व्रत नबसेकै राम्रो हुन्छ।