धरान : चाडवाडको बेला हुने घटनाहरु सुरक्षा संवेदनशिलतालाई प्राथमिकता दिएर धरानमा आज महाअष्टमी मङ्गलवार देखी धरानमा नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त सुरक्षा गस्ती परिचालन हुने इलाका प्रहरी कार्यालयका नयाँ प्रमुख डिएसपी भिषणबाबु राईले बताएका छन् ।

आज बिहान नेपाल पत्रकार महासङ्घ सुनसरी सम्बद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाटमा उनले सुरक्षा निकायले धरानको शान्ति, सुरक्षालाई संवेदनशील श्रेणीमा राखेको बताउँदै संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिने बताएका हुन ।

उनले भने ‘जुवा, तास, लंगुरबुर्जा लगायत शान्ति सुरक्षामा खलल पार्ने कुनै पनि गतिविधि गरेको पाइएमा शून्य सहनशीलता अपनाइने छ ।’ धरानको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ४ दिन मात्र भएको बताउँदै डिएसपी राईले धरानको वस्तुस्थिति हेरेर कार्य योजना र रणनीति बनाउने उल्लेख गरे ।

धरानमा जेन-जी प्रदर्शनपछि भाटभटेनी डिपार्टमेन्ट सहित व्यक्तिगत घर, होटेलको सम्पत्ति तोडफोड लुटपाट र आगजनी समेत भएपछि धरान बासी आतङ्कित बनेका छन् ।

जेन-जीले धरानमा भएको घट्नामा जेन-जी प्रदर्शनकारी संलग्न नरहेको बताइसकेको छ । सर्वपक्षीय नागरिक बचाउ अभियानले यहाँको घटना जेन-जी आन्दोलनसँग नजोड्न प्रहरी, प्रशासनसँग आग्रह गरेको छ । अभियानकै पहलमा पीडितहरूले घट्नामा संलग्नहरूको नाम उल्लेख गरी प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

डिएसपी राईले भने ‘उच्च स्तरीय जाँचबुझ आयोग गठन भएको छ, आयोगले घट्नाको वर्गीकरण गर्न सक्छ, तर अपराधका घट्नाहरुमा संलग्नहरूलाई कारबाही हुन्छ ।’ उनले पछिल्लो अवस्थामा कायम भएको शान्ति सुव्यवस्थाको निरन्तरताका लागि धरानको सामाजिक सद्भाव, एकता र शान्ति, सुरक्षा कायम राख्न २४ सैं घण्टा खट्ने प्रतिबद्धता जनाए ।

धरानवासीको मनोभावना र राय सल्लाह समेटेर चाडै कार्य योजना सहितको रणनीति बनाएर धरानमा रणनीतिक कार्य अनुसार अघि बढ्ने उनको भनाई थियो । डिएसपी राईले भने ‘धरानका लागि मात्र नभएर कोशी प्रदेशकै लागि नयाँ भएकाले केही गर्ने नयाँ कार्य गर्ने सोच सहित आएको छु ।’ काठमाडौँ बाहिर पहिलो पटक अवसर पाएको उनको भनाई थियो ।

धरानमा समाचार लेखेकै निहुँमा पत्रकार विस्थापित हुने, भौतिक आक्रमणको धम्की दिने प्रवृत्तिले प्रेस स्वतन्त्रता सङ्कटमा परेको अन्ताराष्ट्रिय चिन्ताको विषय भएको बारेमा पत्रकारहरूले डिएसपी राईसँग चिन्ता जनाए ।

डिएसपी राईले भने ‘म प्रेस स्वतन्त्रताको पक्षमा छु, प्रेस स्वतन्त्रता कायम राख्ने वातावरण बनाउने छ ।’ पत्रकारको हकहित र सुरक्षा कायम गर्नु प्रहरीको दायित्व हो पत्रकारको सुरक्षाका लागि तत्पर रहने प्रतिबद्धता जनाउँदै  उनले भने ‘असुरक्षाको कुनै घटना मेरो कार्यकालमा हुन नदिने, हुन दिन्न यो मेरो कमिटमेन्ट हो ।’

डिएसपी राईले असोज ९ गते बिहीबारबाट इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन । उनले धरानलाई भयरहित र अपराधमुक्त बनाउन लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन् । धरानमा बढ्दो लागु औषध कारोबार, गुण्डागर्दी तथा चोरीका घटनाहरू धेरै हुने गरेकाले त्यसलाई नियन्त्रण प्राथमिकतामा रहेको उनले बताए ।