धरान : शरीरको प्रतिरोध प्रणाली (इम्युन सिस्टम) सम्बन्धी महत्त्वपूर्ण खोजका लागि मेरी ब्रन्को, फ्रेड र्‍याम्स्डेल र शिमोन साकागुचीलाई सन् २०२५ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।

नोबेल पुरस्कार समितिका अनुसार उनीहरूले शरीरमा रहेका ‘रेग्युलेटरी टी-सेल’ (Regulatory T-cells) नामक कोषहरूको भूमिका पत्ता लगाएका हुन्, जसले प्रतिरक्षा प्रणालीलाई सन्तुलनमा राख्ने कार्य गर्छ। उक्त खोजले अटो-इम्युन रोग, क्यान्सर र अङ्ग प्रत्यारोपण उपचारमा नयाँ सम्भावना खोलेको बताइएको छ।

ब्रन्को र र्‍याम्स्डेल संयुक्त राज्य अमेरिकाका हुन् भने साकागुची जापानका हुन्। उनीहरूले संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर (करिब ८.७० लाख पाउन्ड) नगद पुरस्कार र नोबेल पदक प्राप्त गर्नेछन्।

नोबेल समितिका अनुसार यो खोजले “मानव स्वास्थ्य सुधारमा दीर्घकालीन योगदान पुर्‍याउने” विश्वास गरिएको छ। यससँगै अहिलेसम्म ११६ पटक चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ।

प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी पाँच विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ। सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले अर्थशास्त्रका लागि छुट्टै नोबेल पुरस्कार स्थापना गरेको थियो।

- बीबीसी नेपालीको सहयोगमा