इनरुवा : इनरुवा ३ सखुवागाछीमा ३३औँ मदन-आश्रित स्मृति सभा तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट विभिन्न तहका नेता कार्यकर्ता, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
स्मृति सभामा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद मेहेता, कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत र विजय राई, इनरुवा नगरपालिकाका पूर्व मेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, एमाले सुनसरी जिल्ला अध्यक्ष परशुराम यादव लगायत जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष परशुराम यादव, युवा नेता लोकेश निरौला तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहेताले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपालको कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए ।
युवा नेता लोकेश निरौलाले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ अवधारणाले नेपालको कम्युनिष्ट आन्दोलनलाई स्पष्ट दिशा दिएको उल्लेख गर्दै पार्टीलाई जनतामुखी ढङ्गले अघि बढाउन आजको पुस्ताले उहाँहरूको विचारलाई आत्मसात् गर्नुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता मदन भण्डारी स्मारक संरक्षक समाजका अध्यक्ष सरोज बरालले गरेका थिए । उनले ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा आगामी जेठ ९ गते शनिवार इनरुवामा 'नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपाय' विषयक कार्यशाला आयोजना गरिने जानकारी दिएका छन् ।
यसैबिच, कार्यक्रममा सहभागी कार्यकर्ताहरूले नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी जिल्ला पार्टी कार्यालय परिसरमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरेका थिए ।
madan sabha