धरानः प्राणीजन्य वस्तु नेपाल भित्राउँदा गरिनु पर्ने क्वारेनटाइन जाँचको प्रमाण बिना इटहरीबाट धरान ल्याइँदै गरेको ९० केजी माछा सशस्त्र प्रहरीले आज बिहीबार नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस धरानको गस्ती टोलीले आज बिहान साढे ४ बजे धरान–८ स्थित सेउती खोला पुल क्षेत्रमा चेक प्वाइन्ट स्थापना गरी जाँच गर्ने क्रममा सार्वजनिक बसमा ल्याइँदै गरिएको रहूँ प्रजातिको माछा नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका डिएसपी भुवन अर्यालका अनुसार क्वारेनटाइन जाँच नभएको अन्दाजी २७ हजार रुपैयाँ बराबरको माछा नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार नियन्त्रणमा लिइएको माछा सशस्त्र प्रहरी बलको कार्यालय परिसरमा ल्याई स्थानीय भद्र भलादमी तथा स्थानीयवासीको रोहबरमा खाल्डो खनी साँझ ६ बजे नष्ट गरिएको छ ।









































































