इटहरी : इटहरीको जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति तोकिएपछि अभिभावकले विरोध जनाएका छन् । इटहरी उपमहानगरपालिकाका मेयर तथा शिक्षा समिति संयोजक हेमकर्ण पौडेललाई अभिभावकको भावना विपरीत हुकुमी शासन नचलाउन चेतावनी दिएका हुन् ।
चार कार्यकाल एउटै व्यक्तिलाई अध्यक्ष बनाइनु गलत मनसाय र अभिभावकको इच्छा विपरीत भएको बताएका छन् । विगत दुई कार्यकाल पूर्णकालिन अध्यक्ष र एक कार्यकाल अस्थायी अध्यक्ष भइसकेका काशीनाथ दंगाललाई पुनः अध्यक्ष चयन गरेपछि अभिभावकहरू आन्दोलित बनेका हुन् ।
सोही विषयलाई लिएर वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले बारम्बार निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । अभिभावकहरूले भने भेला नै बोलाएर आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । सोमबार शिक्षा समिति संयोजक तथा मेयर पौडेलको सचिवालय र ६ र ९ नम्बर वडा कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाइसकेका छन् ।
इटहरी उपमहानगरपालिकाको गेट अगाडी धर्ना दिँदै अभिभावकहरूले हुकुमी शैलीमा व्यवस्थापन समिति नतोक्न चेतावनी दिए । अभिभावकको भावनालाई बुझेर निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गर्न पाउनुपर्ने उनीहरूको माग छ ।