धरान : धरानमा ‘धरान नोबेल कलेज’ सञ्चालनमा आएको छ।
धरान-१२, चतारालाइनमा अवस्थित उक्त कलेज यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको हो। सञ्चालकहरूले बैशाख २० गते शनिबार औपचारिक रूपमा पूजा–अर्चना गरी कलेजको शुभारम्भ गरेका हुन्।
माध्यमिक तह (कक्षा ११ र १२) सञ्चालन गर्ने उद्देश्यसहित स्थापना गरिएको कलेज ७ जना सञ्चालकहरूको लगानीमा सञ्चालनमा आएको हो। कलेज स्थापना गर्न करिब २ करोड रुपैयाँ लगानी गरिएको सञ्चालक सदस्य सोभित यादवले जानकारी दिए।
कलेजमा म्यानेजमेन्ट, साइन्स, कम्प्युटर साइन्स तथा फेसन डिजाइन विषयहरू अध्ययन गराइनेछ। साथै, निकट भविष्यमा स्नातक तहका कक्षाहरू समेत सञ्चालन गर्ने योजना कलेज प्रशासनले अघि सारेको छ।
कलेजकाे अध्यक्षमा डा. मोहन कुमार पोखरेल रहेका छन् भने प्रिन्सिपलको जिम्मेवारी रबिन न्यौपानेले सम्हालेका छन्। सञ्चालक यादवका अनुसार कलेजमा आधुनिक र सुविधा सम्पन्न पूर्वाधार तयार गरिएको छ।
विद्यार्थीहरूका लागि लिफ्टको सुविधा, अत्याधुनिक प्रयोगशालाहरू, सबै ल्याबमा एसी जडान, प्रत्येक कक्षामा स्मार्ट बोर्ड तथा ठूला र उज्याला कक्षाकोठाहरू छन् ।
यादवका अनुसार कलेजमा अनुभवी प्राध्यापकहरूको टोलीमार्फत गुणस्तरीय तथा नतिजामुखी शिक्षा प्रदान गरिनेछ।









































































