धरान : युकेमा रहेकी उर्मिला राईलाई साइबर अपराधमा पक्राउ गर्न इन्टरपोल मार्फत खोजी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सामाजिक सञ्जालमा विगत १ वर्ष देखि विवादास्पद अभिव्यक्ति दिँदै आएको आरोपमा राई विरुद्ध मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय समन्वय प्रक्रिया अघि बढाइएको छ ।

राई हाल युकेमा रहेको जानकारी पाइए अनुसार उनको खोजीका लागि आवश्यक विवरण इन्टरपोलमा पठाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणवाबाबु राईले बताए ।

डिएसपी राईका अनुसार राईको फोटो, परिचय खुल्ने कागजात आइडी तथा अन्य आवश्यक व्यक्तिगत विवरण इन्टरपोल सम्बन्धित निकायमा पठाई सकिएको छ । प्रहरी स्रोतका अनुसार इन्टरपोलले खोजी प्रक्रिया अघि बढाइएको जानकारी दिएको  छ ।

राई विरुद्ध जाहेरी दिने सञ्चारकर्मीले कानुनी प्रक्रिया अघि बढिरहेको र सम्बन्धित निकाय मार्फत आवश्यक समन्वय गर्ने कार्य जारी रहेको बताएकी छन् ।

धरानकी एक सञ्चारकर्मी महिला विरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा राई विरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।