धरान : काठमाण्डौमा सुकुम्वासी बस्ती डोजर लगाएर तहस नहस गरेपछि आतङ्कित धरानका सुकुम्वासी बस्तीवासीहरूले राहतको सास लिएका छन् । 
उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले तत्काल डोजर नचलाउने वचन दिएपछि उनीहरूले राहतको सास लिएका हुन् ।
धरान उपमहानगरपालिका कार्यालयमा आज सोमवार ज्ञापनपत्र बुझाउन गएको नेपाल बसोबास तथा संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका प्रतिनिधिहरूलाई उनले भने ‘सुकुम्वासी बस्तीमा तत्काल डोजर लगाउने कुनै योजना र्छैन तपाईहरु ढुक्क रहनु होस ।’
कावा प्रमुख बेघाले सुकुम्वासी समस्यालाई राजनीतिक विषय भन्दा बढी मानवीय र कानुनी ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने ‘म पदमा रहुन्जेलसम्म डोजर चलाएर बस्ती उठाउने कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
धरान-८ मा एक घर भत्काइएको घटनापछि उत्पन्न त्रास र आक्रोशबिच सुकुम्वासीहरू कार्यवाहक प्रमुखलाई ज्ञापनपत्र बुझाउन गएका हुन । उनीहरूलाई बेघाले धरानमा स्थानीय सरकारको अनुमतिमा डोजर नचल्ने बताए । उनले धरानमा करिब १५ हजार सुकुम्वासी भएको समेत बताए । 
धरान-८ स्थित ११ घरेमा भएको घर भत्काउने घटनाबारे विशेष परिस्थिति बारे जानकारी दिँदै उनले भने ‘‘विशेष परिस्थिति’को घट्नाका कारण घर भत्काउन हामी बाध्य भयौँ ।’ उनले भत्किएको घरलाई बेवास्ता नगर्ने वचन दिदैं पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उपमहानगरपालिकाले उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
यसैबीच, स्थानीय सुकुम्वासी अगुवाहरूले धरान–८ को घटनापछि देशभर सुकुम्वासी बस्तीमा भइरहेका हटाउने गतिविधिका कारण आफूहरू घरबारविहीन हुने डर बढेको बताएका छन् ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले सोही चिन्ताका कारण ज्ञापनपत्र बुझाउन आएको जानकारी दिए ।
कार्यवाहक प्रमुख बेघाले धरानका सुकुम्बासीहरुलाई उत्तेजित नहुन र संयमित रहन आग्रह गर्दै उपमहानगरपालिका अभिभावक भएकोले कसैको घर जोगाउने र नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले काम गरिरहेको बताए ।