धरान : धारामा एक दिन पानी नआउँदा हाहाकार मच्चिने धरानमा खानेपानीको महसुल भने बसौँ नतिरेर लाख रुपैयाँ बक्यौता राख्ने ग्राहकहरू पनि छन् ।
धरानमा कुल खानेपानी ग्राहक सङ्ख्या २८ हजार रहेको छ । तीमध्ये नियमित महसुल तिर्ने ग्राहकको सङ्ख्या २२ हजार ४५० छन् । ५ हजार ५५० ग्राहकले भने लामो समयदेखि महसुल नबुझाएको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
त्यसरी महसुल नबुझाउने ३० जना ग्राहकले प्रतिव्यक्ति १ लाख रुपैयाँ सम्म पुग्दा पनि पानीको महसुल बुझाएका छैनन् । लाख रुपैयाँ नाघेका व्यक्तिगत तथा सङ्घ-संस्था ३० ग्राहकबाट ३१ लाख ६१ हजार ६२२ रुपैयाँ २३ पैसा बक्यौता रहेको बोर्ड कार्यालयले जानकारी दिएको छ।
यसरी महसुल नतिरी बाँकी राख्नेहरूको कुल रकम हाल सम्म ३ करोड ९८ लाख १० हजार ५७२ रुपैयाँ २३ पैसा बक्यौता रहेको बोर्डले जनाएको छ । त्यसमध्ये व्यक्तिगत ५ हजार ५२० ग्राहकबाट ३ करोड ६६ लाख ४८ हजार ९५० रुपैयाँ बाँकी रहेको बताइएको छ ।
खानेपानी व्यवस्थापन बोर्डले उक्त जानकारी कपुरी न्युजले सूचनाको हक प्रयोग गरी लिखित रूपमा माग गरेपछि मात्र बोर्डका निर्देशक राजु पोख्रेलले दिएका हुन ।
धरान खानेपानी व्यवस्थापन बोर्डले हालै लामो समय महसुल नतिर्ने ग्राहकहरूलाई जरिवाना मिनाहा गरेको सूचना जारी गरेपछि महसुल नतिर्ने सरकारी, गैरसरकारी र व्यक्तिगत ग्राहकहरू बारे ‘कपुरी न्युज’ले बोर्ड कार्यालयसँग जानकारी माग्दा ‘बाँकी बक्यौता’ विवरणको जानकारी दिन नमिल्ने बताएकाले सूचनाको हक प्रयोग गरिएको हो ।
खानेपानी बोर्डको अध्यक्षता सम्हाल्ने बित्तिकै धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले खानेपानी बोर्डको सबै काम कारबाही, आर्थिक हिसाब किताब महिना पिच्छे सार्वजनिक गर्दै धरानको खानेपानीलाई पारदर्शी बनाउने उद्घोष गरेका थिए ।
तर खानेपानीको महसुल सङ्कलन भएको हिसाब बाहेक बाँकी बक्यौताको रकम भने पारदर्शी बनाएका थिएनन् । सूचनाको हक प्रयोग गरेर माग गर्दा मात्र उक्त हिसाब दिइएको हो ।
धरानमा खानेपानीको लागि पछिल्लो समय तत्कालीन नगर प्रमुख हर्क साम्पाङको श्रमदान अभियान र देश विदेशका दाताहरूको करौडौं आर्थिक सहयोग लगानी भएको छ । जनताको श्रम र आर्थिक लगानी परेको खानेपानीको लाखौँ रुपैयाँ महसुल वर्षौ बक्यौतालाई सूची सार्वजनिक गरेर पारदर्शी गरिनु जरुरी छ ।
बोर्डका निर्देशक राजु पोख्रेलका अनुसार खानेपानीको महसुल तिर्न ढिलाइ गरेपछि ताकेता गर्ने र जरिवानाको व्यवस्था पनि छ । उनका अनुसार ३० दिन कटेपछि १० प्रतिशत, ६० दिनपछि २० प्रतिशत र ९० दिन कटेपछि ५० प्रतिशत सम्म जरिवाना लाग्छ ।
तर बोर्डले अहिले सम्म महसुल तिर्न विलम्ब गर्नेहरूबाट कति जरिवाना असुल गर्यो ? बक्यौता असुलीकालागि ताकेता गरेको बारेमा भने कुनै जानकारी बोर्डले दिएको छैन ।
बोर्डका अध्यक्ष अइन्द्र विक्रम बेघाले यस महिनाभित्र बक्यौता महसुल नबुझाउने ग्राहकहरूलाई कारबाही गरिने बताए । उनले भने, “महसुल नतिर्ने ग्राहकको घरको धारा काटिनेछ, बेलैमा खानेपानी महसुल तिर्नुहोला ।”
बोर्डले २०८२ चैत २२ गते सूचना प्रकाशित गर्दै पुरानो बक्यौता भएका ग्राहकलाई जरिवाना छुट दिने व्यवस्था गरेको छ । बोर्डले वैशाख मसान्त सम्म बक्यौता रकम तिरेमा पुरानो बक्यौतामा लाग्ने सम्पूर्ण जरिवाना छुट दिने निर्णय गरिएको छ ।
तर कति रकम सम्म छुट दिइने भन्ने विषय भने खुलाइएको छैन ।


































































