वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाका प्रमुख बजारहरूमा नापतौल शिविरको आयोजना गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोग,क्षेत्रीय गुणस्तर तथा नापतौल कार्यालय विराटनगर,मोरङको समन्वय तथा वराहक्षेत्र उद्योग सङ्घ चक्रघट्टीको आयोजनामा नापतौल शिविर आयोजना गरिएको हो । 
शिविरमा क्षेत्रीय गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका कर्मचारीहरूद्वारा व्यवसायीको नापतौल सामग्री परीक्षण तथा प्रमाणपत्र नवीकरण कार्य भएको थियो ।
शिविर नगरपालिकाका प्रमुख बजारहरू चतरा,कालाबञ्जर,प्रकाशपुर र चक्रघट्टिमा आयोजना गरिएको वराहक्षेत्र उद्योग सङ्घ चक्रघट्टीका अध्यक्ष तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।
शिविर मङ्गलवार चतरा बजारमा, बुधवार कालाबञ्जर बजारमा,बिहीबार प्रकाशपुर बजार र शुक्रवार चक्रघट्टी बजारमा आयोजना गरिएको थियो ।
वराहक्षेत्र उद्योग सङ्घ चक्रघट्टीका अध्यक्ष श्रेष्ठका अनुसार वराहक्षेत्रका व्यवसायीहरूलाई नापतौल कार्यालयसम्म पुग्न टाढा हुने भएकोले शिविर सञ्चालनले समय तथा आर्थिक दुवैको बचत सहित सरल सेवा प्रदान गर्ने उद्देश्यले वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोग,क्षेत्रीय गुणस्तर तथा नापतौल कार्यालय विराटनगर,मोरङको समन्वय  शिविर सञ्चालन गरिएको हो ।
नापतौल सामग्रीको जाँच शिविरमा उद्योग वाणिज्य सङ्घले व्यवसायीको प्रमाणपत्र समेत सँगै नवीकरण गर्ने सुविधा उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले बताए ।
नगर भित्रका प्रमुख बजार नापतौल शिविर आयोजना गरिएसँगै बजार अनुगमनका क्रममा अनिवार्य रूपमा  नापतौल सामग्रीको जाँच प्रमाणपत्र र नवीकरण हेरिने नगरपालिकाका प्रशासन शाखाका प्रमुख मातृका तिवारीले बताए ।