धरान : धरान-१८ बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नं. १०९ मा फेला परेकी महिलाको सनाखत भएको छ । 

मृतकका छोरा र छोरीबाट शवको पहिचान भएको हो । मृतक पाँचथरको मिक्लाजुङ-१ की ३९ वर्षीय सुमित्रा तामाङ रहेको पुष्टि भएको छ । 

उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा विगत ४,५ वर्ष देखि बसोबास गर्दै आएको उनका छोराछोरीले बताएका छन् । मृतकसँगै भेटिएको नागरित्ताको आधारमा मृतकका छोराछोरीलाई प्रहरीले धरान झिकाउन सफल भएको प्रहरीले बताएको छ ।

मृतकको अनुहारमा चोट लागेकोले उनको हत्या भएको हुन सक्ने भन्दै उनीसँगै दुई दिन देखि सोही कोठामा बस्दै आएका पुरुषको प्रहरीले खोजी गरिरहेको छ । मृतकको शवको मुचुल्का उठाएर अहिले प्रतिष्ठानको शव गृह लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताए ।