धरान : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय लेटाङ मोरङका प्रहरी निरीक्षक सागर साहलाई वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

निरीक्षक साहले अदालतको फैसलाले दोषी कारार भई फरार रहेका उल्लेख्य सङ्ख्यामा प्रतिवादी पक्राउ गरेको कार्यलाई उच्च मूल्याङ्कन गरिएको छ । साथै साहले प्रविधिमैत्री प्रहरी सेवामा ड्रोन क्यामेराबाट अपराध अनुसन्धान र रोकथाममा प्रभावकारी प्रयोग गरेर उदाहरण कायम गरेका छन् ।

उनको नागरिक सहायता कक्षमा सचेतनामूलक सन्देशहरू प्रवाह गर्न डिस्प्ले बोर्ड जडान गर्ने कार्य र सञ्चार शाखाको निर्माण गर्ने महत्त्वपूर्ण कार्य गरेका छन् ।

प्रहरी हिरासत कक्षमा पुस्तकालय स्थापना गरी नव उत्प्रेरणामूलक कार्यहरूलाई प्राथमिकता दिएर नागरिक र प्रहरी बिचको सम्बन्ध प्रगाढ बनाउन गरिएको महत्त्वपूर्ण कार्यको उच्च मूल्याङ्कन गर्दै साहलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।