डेंगु ज्वरो एडिस एजिप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक सरुवा रोग हो । यो रोग सार्ने लामखुट्टे नगर तथा नगर उन्मुख क्षेत्रमा बढी पाइने भएकोले सहरी रोग पनि भन्ने गरिन्छ । यस जातको लामखुट्टेले स-साना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रङ्गका खाली डब्बाहरू, थोत्रा टायरहरू, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, कूलर, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । यस लामखुट्टेले धेरैजसो दिउँसो मात्र टोक्ने गरेको पाइएको छ।
डेंगु ज्वरोका मुख्य लक्षणहरू :
डेंगु ज्वरोका मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो ।
यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।
ज्वरोका साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन् ।
१. आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने ।
२. शरीर कटकटी दुख्ने ।
३. शरीरमा बिमिरा आउने र रक्तस्राव हुने ।
४. जोर्नी, हड्डी तथा मांसपेशीहरू दुख्ने ।
धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुईभन्दा बढी लक्षणहरू देखा परेको खण्डमा डेंगु ज्वरो भएको शङ्का गर्न सकिन्छ । यसका साथसाथै वाककाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत रहेको चक्का (नीलडाम) देखा पर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छन् ।
डेंगु ज्वरोको उपचार
डेंगु ज्वरो भाइरसका कारणबाट हुने भएकोले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा यसको लक्षणका आधारमा उपचार गरिन्छ । यस रोगको खास उपचार नभएकाले रोगीले सामान्यतया घरमै आराम गरी बसेमा तथा प्रशस्त झोलिलो पदार्थ खाएमा आफै ठिक हुन्छ । तर, रोगको जटिलता बढेमा नजिकको स्वास्थ्य संस्थामा भर्ना भई चिकित्सकको सल्लाह अनुसार उपचार गराउनुपर्दछ ।
डेंगु ज्वरोबाट बच्ने उपाय
१. डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नका लागि लामखुट्टेको वृद्धि विकासमा नियन्त्रण गर्नुपर्दछ ।
२. आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप, बोतल अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, पुराना टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्छ ।
३. अनावश्यक पानी जमिहालेको खण्डमा हप्ताको २ पटक पानी वरिपरि डढेको मोबिल वा मट्टितेल छर्कने र खानेपानीको ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ । पानी ट्याङ्कीलाई हरेक हप्ता खाली गरी सफा गर्नुपर्छ ।
४. कुलरमा रहेको पानीमा प्रत्येक हप्ता १-२ चम्चा मट्टितेल हालिदिने गर्नुपर्छ र ५-५ दिनमा कुलरमा जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ ।
५. लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउनु पर्छ । यसका साथै लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ ।
६. डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा दिनमा टोक्ने लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने मुख्य उपाय हो ।









































































