धरान : नेपालमा देखा परेको डेंगु सङ्क्रमणको जोखिममा रहेको नगरपालिकाहरूमा धरान पनि परेकोले धरान उपमहानगरपालिकाले रोकथामको तयारी गर्न थालेको छ ।

डेंगु महामारी रोकथाम गर्न ‘कम्युनिटी सर्भिलेन्स’ अभियान सुरु गर्ने तयारी गरिएको कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले बताएका छन् । युनिसेफ र पीएलआरको साझेदारी नगरपालिकाले दुई दिने अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको छ ।

‘समुदायमा आधारित रोग निगरानी प्रणाली’ अभिमुखीकरणको समापनमा बेघाले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समुदायमै पुगेर सक्रिय रूपमा निगरानी गर्न निर्देशन दिए । उनले भने 'अब बिरामी अस्पताल आउन पर्खिने होइन, रोग फैलिनुअघि नै समुदायमा पुगेर जोखिम पहिचान गर्नुपर्छ,“डेंगु फैलनु भन्दा अगावै जनचेतना फैलाउने काममा सबै सक्रिय हुनुपर्छ ।”

नेपाल सरकारको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले मुलुकका १३ स्थानीय तहमा डेंगु सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालमा पुस यता करिब ६ सय जनामा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमणको जोखिममा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर, बिर्तामोड, मेची, कचनाकेवल गापा, सुनसरीको धरान उमहानगरपालिका, म्याग्दीको बेनी, चितवनको भरतपुर, रुपन्देहीको बुटवल, मकवानपुरको हेटौँडा, सिन्धुलीको कमलामाई र ललितपुर महानगरपालिका रहेका छन् ।

धरानले विगतमा डेंगु र कोभिड १९ जस्ता महामारीको गम्भीर असर भोगिसकेको छ । अब ‘कन्टेन्मेन्ट सोरर्स’ अर्थात् रोग सुरु भएकै स्थानमा नियन्त्रण गर्ने अवधारणालाई व्यवहारमा उतार्न अभिमुखीकरण तालिम आयोजना गरिएको कावा प्रमुख बेघाले बताए ।

कार्यक्रम प्रशिक्षक अनीश शर्मा उप्रेतीले हाल नेपालका ठुला अस्पतालहरूमा लागू रहेको ‘प्रारम्भिक चेतावनी तथा प्रतिवेदन प्रणाली (ईवार्स)’ बारे  जानकारी दिए ।