धरान : नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष निर्मला शर्माले सरकारले प्राइभेट मिडियालाई सरकारी विज्ञापन बन्द गरेर मिडिया उद्योगलाई आर्थिक नाकाबन्दी गरेको सरकारले पत्रकारलाई समाचार सङ्कलनमै रोक लगाएर सूचनाबाट वञ्चित गराउने नीति अपनाएको बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको १४ औँ वार्षिक साधारण सभामा उनले भनिन् ‘नेपालमा आजको प्रेस र पत्रकारिता शाहीकालमा भन्दा पनि इतिहासकै कठिन मोडमा उभिएको छ ।’

सरकारी विज्ञापन बन्द गरी प्राइभेट मिडियालाई नाकाबन्दी गरेको सरकारले पत्रकारहरूलाई सूचना दिन पनि बन्द गरेको कुरा संसदीय सुनुवाइ समिति लगायत केही संसदीय समितिहरूमा पत्रकारलाई रिपोर्टिङ गर्न रोक लगाइएको घट्नाले पुष्टि गरेको उनले बताइन् ।

संसदीय सुनवाइको रिपोटिङमा रोक लगाउने नीतिप्रति आपत्ति जनाउँदै अध्यक्ष शर्माले भनिन् ‘एकाध पत्रकारले आचार संहिता उल्लङ्घन गरेकै निहुँमा सबै सञ्चारकर्मीलाई सूचनाको पहुँचबाट वञ्चित गर्न उचित हुँदैन ।’

उनले पछिल्लो समय सरकारबाटै लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि विभिन्न ढङ्गले प्रहार भइरहेको बताउँदै यस्तो सरकारी नीतिको विरुद्ध पत्रकारहरू एकजुट हुनु आवश्यक भएको बताइन् । अध्यक्ष शर्माले भनिन् ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता सङ्कुचित हुने सङ्केत देखिएको छ, आवश्यक परे अन्य क्षेत्रसँग सहकार्य गरेर पनि प्रेस स्वतन्त्रताको पक्षमा उभिनुपर्ने अवस्था आउन सक्छ ।’

मिडिया मनिटरिङ रिपोर्ट उद्धृत गर्दै अध्यक्ष शर्माले पछिल्लो एक वर्षमा समाचार लेखेकै कारण पत्रकारहरूको स्वतन्त्रता हनन भएका ११३ घटना दर्ता भएको जानकारी दिइन । पत्रकारमाथि हुने धरपकड, कुटपिट र दुर्व्यवहारमा अझै दण्डहीनता कायम रहेको तथा समाचारकै आधारमा पत्रकारहरू साइबर ब्युरोसम्म धाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताइन ।

अध्यक्ष शर्माका अनुसार श्रमजीवी पत्रकारले अझै पनि उचित पारिश्रमिक पाइरहेका छैनन् । तलब नपाएको विषयमा महासङ्घमा ११३ वटा उजुरी परेको र पीडित पत्रकारलाई कानुनी सहायता उपलब्ध गराइरहेको छ ।

सरकारी सञ्चारमाध्यम रेडियो नेपाल बाट लामो समयदेखि कार्यरत पत्रकारहरूलाई निष्कासन गरिएको विषयमा महासङ्घले आन्दोलन र वार्ता दुवै प्रक्रिया अघि बढाइरहेको छ । 

उनले भनिन् ‘सामाजिक सञ्जालमार्फत फैलिने ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ का कारण पत्रकारिताको विश्वसनीयता नै सङ्कटमा परेको छ ।’ तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताको आवश्यकता झन् बढेकोमा अध्यक्ष शर्माले ध्यानाकर्षण गराइन् ।

उनले अबको आन्दोलन केवल सडक वा भौतिक उपस्थितिमा सीमित नरहने बताउँदै भनिन् ‘वैचारिक र लेखन मार्फत पनि प्रतिरोधको स्वर उठाउनु पर्ने आवश्यकता बढेको छ ।’ उनका अनुसार महासङ्घको शक्ति केन्द्रीय समितिमा मात्र सीमित नभई देशभर फैलिएका शाखा र करिब ९ हजार ५ सय सदस्यमा निहित छ ।

सङ्घीयताको सबैभन्दा प्रभावकारी अभ्यास महासङ्घले गरेको उल्लेख गर्दै स्थानीय र प्रदेश संरचना बलियो भएकै कारण केन्द्र पनि सशक्त बनेको बताइन ।

सरकारले संविधान संशोधनको सुझाव लिन सुरु गरेको बताउँदै उनले महासङ्घसँग पनि सुझाव मागिएको बताउँदै भनिन् ‘हामीले प्रारम्भिक सुझाव कार्यदललाई बुझाएका छौँ ।’ 

त्यसमा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई मौलिक हकका रूपमा अक्षुण्ण राख्नुपर्ने र त्यसमा कुनै पनि प्रतिबन्धात्मक व्यवस्था राख्न नहुने माग गरिएको उनले स्पष्ट गरिन् ।

साधारणसभा उद्घाटन समारोहमा धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको महत्त्वपूर्ण आधार भएकाले पत्रकारको सुरक्षा र अधिकारप्रति आफू प्रतिबद्ध रहेको बताए ।

उनले धरान उपमहानगरपालिकाले पत्रकारहरूलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन पुनः सञ्चालन गरिएको, पत्रकार फेलोसिप, सञ्चारकर्मीको हित तथा संरक्षणका विषयमा उपमहानगरपालिका सकारात्मक रहने प्रतिबद्धता जनाए ।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले मिडिया माथि आर्थिक नाकाबन्दी, पत्रकारको पेशागत र भौतिक सुरक्षाको चुनौती माथि सञ्चारकर्मीले आफूले गरेको रिपोटिङको सत्य तथ्य स्थापित गर्नु पर्ने चुनौती थपिएको बताए ।

उनले मिडियामा बडेको फेक न्युज, फेक कन्टेन्टले तथ्य र सत्यमा आधारित सामाग्रीप्रति भ्रम उत्पन्न गराउने प्रवृत्ति बढेको बताउँदै भने ‘सामाजिक सञ्जालको अल्गोरिदमले सर्वसाधारण प्रयोगकर्ताहरूलाई सत्य कुरा पनि असत्य मान्ने स्थिति आउने अवस्था छ ।’

कपुरीन्युजकर्मी सहित ४ पुरस्कृत 

साधारण सभामा सुनसरीका ४ चार जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । अग्रज पत्रकार स्व. डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार’बाट कपुरीकर्मी रश्मि प्रधान सम्मानित भएकी छिन ।

अग्रज पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डे द्वारा स्थापित ‘चन्द्रलक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कार-२०८३’ बाट पत्रकार शशि कोइराला पुरस्कृत भएका छन् ।

‘प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’ बाट विवेक भट्टराई, तथा ‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार’ बाट सुनिल चौधरी पुरस्कृत भएका छन् ।

साधारण सभामा महासङ्घका पूर्व अध्यक्षहरूलाई दोशल्ला ओढाई सम्मानित गरिएको थियो । सम्मानित उपस्थित पूर्व सभापतिहरूमा हर्ष सुब्बा, कृष्ण विनोद लम्साल, कृष्ण अधिकारी, आनन्द श्रेष्ठ, अमर खड्का, जनकऋषि राई थिए ।

सभापतित्व गरेका अध्यक्ष सन्तोष काफ्लेले पत्रकारितामा योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मीहरूको भूमिकाको प्रशंसा गर्दै स्वतन्त्र, जिम्मेवार र सृजनशील पत्रकारिताको आवश्यकता अझ बढेको बताए । सभामा सचिवको प्रतिवेदन विनय बाराकोटी र कोषाध्यक्षको प्रतिवेदन विवेक रेग्मीले प्रस्तुत गरेका थिए ।

4-samanitsaman-rasmi