धरान : कवि भीम विरही राईलाई ५० हजार रुपैयाँ राशीको ‘युद्ध साहित्य पुरस्कार–२०८२’ प्रदान गरिएको छ । 
बेलायतको युद्ध साहित्य पुरस्कार कोषद्वारा धरान स्थित होटेल रत्न इनमा आयोजित कार्यक्रम बिच राईलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्माले विश्व इतिहास युद्ध र सङ्घर्षबाटै निर्माण भएको चर्चा गर्दै विभिन्न कालखण्डका युद्धहरूले वर्तमान राजनीतिक तथा सामाजिक व्यवस्थाको जग बसालेको बताए । उनले भने ‘नेपालको राजनीतिक परिवर्तनहरू पनि सङ्घर्षकै परिणाम हो ।’
वर्तमान समयमा युद्धको स्वरूप परिवर्तन हुँदै डिजिटल युद्धको अवधारणा विकसित हुँदै गएको बताउँदै मुनाराज शेर्माले भने ‘युद्ध साहित्यले हजारौँ वर्षअघिका धार्मिक युद्धदेखि आधुनिक युद्धसम्मका उपलब्धि, समस्या तथा योद्धाहरूको योगदानलाई उजागर गर्ने काम गर्दछ ।’
वक्ताहरू जनकऋषि राई र डाक्टर अस्मिता विष्टले नेपाली साहित्य, विशेष गरी युद्ध साहित्य क्षेत्रमा राईले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । युद्ध सम्बन्धी विषय वस्तुलाई साहित्यमा प्रयोग गरेर राईले महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाई थियो । 
युद्ध साहित्य पुरस्कार कोषले साहित्यको प्रवर्द्धन तथा स्रष्टाहरूको सम्मानका लागि पुरस्कार स्थापना गरिएको आयोजक संस्थाका नरेश काङमाङले जानकारी दिए ।  
सोही अवसरमा भएको छलफलमा गोर्खाली सैनिकहरूले विभिन्न मुलुकमा देखाएको वीरता तथा उनीहरूले भोगेका अनुभवहरूलाई साहित्यमा समेट्नु आवश्यक रहेकोमा सहभागीहरूले जोड दिए । उग्रवाद र ‘ब्यान्डिट’ जस्ता प्रवृत्तिबारे समेत चर्चा गरिएको थियो ।