धरान : बालेन सरकारद्वारा सुकुम्बासी माथि गरिएको बर्बर दमन विरुद्ध धरानमा आन्दोलनको घोषणा सहित शनिवार वृहत् विरोध प्रदर्शन हुने भएको छ । सरकारको दमनकारी नीति विरुद्ध सुकुम्बासी बस्ती जोगाउन श्रम संस्कृति पार्टी सहित सबै राजनीतिक  दलहरूले आन्दोलनलाई समर्थन गरेका छन् ।
नेपाल बसोबास बस्ती संरक्षण समाज तथा बस्ती रक्षा संरक्षण परिचालन समितिद्वारा शुक्रवार आयोजित राजनीतिक दलसँग गरिएको अन्तरक्रियामा दलहरूले सुकुम्बासी आन्दोलनलाई सक्रिय समर्थन गर्ने बताए ।
समितिका संयोजक सुवास राईले सुकुम्वासीहरूको वास्तविक पहिचान र वर्गीकरण गरी मात्र समस्या समाधान गरिनु पर्ने बताए । उनले भने ‘समस्याको दीर्घकालीन समाधानको सट्टा सुकुम्वासीहरूलाई दुःख दिएर मानवअधिकार हनन गरिएको छ ।’
श्रम संस्कृति पार्टी धरानका अध्यक्ष दिनेश राईले कुनै विकल्प नदिई बस्ती हटाउने प्रयास मानवीय संवेदना विपरीत भएको बताए । उनले सुकुम्वासीहरूलाई सुरक्षित र व्यवस्थित बसोबासको सुनिश्चितता गर्दै सम्मानजनक व्यवहार गर्नु पर्ने माग गरे ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी धरानका उपसभापति राम कार्कीले भने सरकार जनताको पक्षमा रहेको दाबी गर्दै खोला किनारमा बसोबास गर्नेहरूलाई सुरक्षित व्यवस्थापन गर्न खोजिएको बताए ।
नेकपा एमाले धरानका उपाध्यक्ष पारस काङमाङले वास्तविक सुकुम्बासी र को अव्यवस्थित बसोबासी हो भन्ने छुट्ट्याएर मात्रै दीर्घकालीन समाधान सम्भव हुने बताए । उनले अघिल्लो सरकारले सुकुम्बासी समस्या समाधानका लागि आयोग गठन गरी जग्गा नाप जाँच र लालपुर्जा वितरण प्रक्रिया सुरु गरेको बताउँदै हालको सरकारले त्यसलाई निरन्तरता नदिएकोमा असन्तुष्टि जनाए।
नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेलले भने ‘बालेनलाई काट्दा जस्तो रगत आउँछ खोलाको डिलमा बस्नेको पनि त्यस्तै रगत आउँछ ।’ सुकुम्बासी पनि यही देशका नागरिक हुन, उनीहरूलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उनले बताए ।
सत्ता शक्ति कहिले एकनास हुँदैन, ५ पटक प्रधानमन्त्री भएका नेपाली काँग्रेसका सभापतिले देश छोड्नुपर्ने अवस्था आइलागेको देशका जनतालाई कमजोर नसोच्न उनले प्रधानमन्त्री बालेनलाई आग्रह गरे ।
पोखरेलले भने ‘सधैँ प्रधानमन्त्री हुईदैन, एक दुई महिनामा कायापलट नहुने र केही गर्न सकिँदैन ।’ सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि उनीहरू बसिरहेकै स्थानमा उचित जग्गा उपलब्ध गराउने कार्य योजनामा आयोगले गरिरहेको कामलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
नेपाली कम्युनिस्ट पार्टी धरान संयोजक उद्धव लिम्बुले सुकुम्वासीहरू पनि राज्यका नागरिक भएको उल्लेख गर्दै उनीहरूमाथि अमानवीय व्यवहार भइरहेको आरोप लगाए । उनले भने  “सुकुम्वासीलाई पशु सरह व्यवहार गर्नु हुँदैन, राज्यले मानवीय दृष्टिकोण अपनाउनुपर्छ ।,”
उनले जनताले दिएको मतलाई समेट्दै उत्साहित बनेको सरकारले अव्यवस्थित बसोबासीहरुलाई दरिद्र व्यवहार गरेकोमा आपत्ति जनाए । उनले भने ‘हुने खाने वर्गले हुँदा खाने वर्गलाई बर्बरता पूर्वक दमन गरेकोमा नेपाली कम्युनिस्ट पार्टी यस विरुद्ध सडकमा सँगै छ सबै मिलेर सडक सङ्घर्ष गरौँ ।’
दलहरूले सुकुम्बासी समस्या समाधानका लागि पहिचान प्रक्रिया अघि बढाई उपयुक्त स्थानमा जग्गा र आवासको व्यवस्था गरेर मात्र स्थानान्तरण गर्नुपर्ने माग गरेको उनको भनाई थियो ।
सघिय लिम्बुवान लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सोम श्रेङ मादेनले हुकुम्बासि र सुकुम्वासी छान्ने मापदण्ड तयार हुनुपर्ने बताउँदै सुकुम्बासीहरुलाई गरेको अमानवीय व्यवहारको घोर भर्त्सना गरे ।
राजनीतिक दलहरूसँगको अन्तरक्रिया बस्ती रक्षा आन्दोलन सङ्घर्ष समितिले शनिवार धरानमा शक्ति प्रदर्शनको सन्दर्भमा आयोजना गरिएको सभापति आइतबहादुर लिम्बुले बताए । उनले छाताचोक देखि भानुचोक सम्म र्‍याली प्रदर्शन सहित कोणसभा आयोजना गरिएको जानकारी पनि दिए ।