वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत वडा नं. २ फाइनलमा प्रवेश गरेको छ।
देविघाटस्थित बसन्तऋतु माध्यमिक विद्यालयको खेल मैदानमा मङ्गलवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा साबिक उप विजेता वडा नं. ५ लाई टाइब्रेकरमा ६ - ५ गोल अन्तरले पराजित गर्दै गत संस्करणको विजेता वडा नं. २ ले उपाधि नजिक पुगेको हो। खेलको निर्धारित र थप अतिरिक्त समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको नतिजा टाइब्रेकरवाट लिईएको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २ का  रोहन राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।
प्रतियोगितामा पहिलो चरण नकआउट र दोस्रो चरण लिग फर्म्याटमा खेल सम्पन्न भएपछि उत्कृष्ट चार टोलीबिच पुनः नकआउट प्रणालीमार्फत प्रतिस्पर्धा भइरहेको छ। अब अन्तिम सेमिफाइनल खेल बुधवार समूह ‘बी’ का विजेता वडा नं. १ र समूह ‘ए’ का उपविजेता वडा नं. ९ बिच हुने आयोजकले जनाएको छ।
“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २५ गतेसम्म जारी रहनेछ। नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालदेखि लिग–नकआउट ढाँचामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ।
man-of-the-match