इटहरी : इटहरी वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट दलको आयोजनामा सञ्चालन गरिएको एक दिने दन्त शिविरमा ४६४ जनाको दाँत परीक्षण गरिएको छ ।
सात दिने पोषण सप्ताह कार्यक्रमअन्तर्गत आयोजित शिविरमा कक्षा १ देखि ५ सम्मका ३९२ जना विद्यार्थीले दन्त परीक्षण गरे । यस्तै, अभिभावक, शिक्षक र कर्मचारी ७२ जनाले दन्त परीक्षण सेवा लिएका हुन् । 
कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालय स्काउट शिक्षिका वन्दना दाहालको सभापतित्वमा भएको थियो । यस्तै, प्रमुख अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेत रहेका थिए ।  
कार्यक्रममा इटहरी यूथ ओपन क्र्यूका स्वयंसेवक टोलीको समेत सक्रिय सहभागिता रहेको थियो । शिविरमा कोशी डेन्टल हस्पिटल प्रालि इटहरीले प्राविधिक सहयोग गरेको थियो ।
दाहालका अनुसार स्काउट दलले वर्षेनी सिर्जनात्मक कार्य गर्दै आएको छ । अघिल्लो वर्ष स्काउट दलकै अगुवाइमा वृहत् रक्तदान गरेको थियो ।