धरान : भारतको विहार राज्यमा आगामी नोभेम्बर महिनामा हुने विधानसभा निर्वाचनको मिति र सम्पूर्ण तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
आयोगको जानकारीलाई उद्धृत गर्दै भारतीय मिडियाहरूले लेखेका छन् 'यो पटकको विधानसभाको निर्वाचन २४३ वटा सिटमा दुई चरणमा सम्पन्न गरिनेछ । पहिलो चरणको मतदान नोभेम्बर ६ मा र दोस्रो चरणको मतदान नोभेम्बर ११ मा हुनेछ।'
मतगणना तथा परिणाम घोषणा भने नोभेम्बर १४ मा हुने कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा १२१ वटा र दोस्रो चरणमा १२२ वटा क्षेत्रका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र प्रचारका लागि तोकिएको समय पनि चरणअनुसार फरक-फरक हुने बताइएको छ।
विहारको यस निर्वाचनमा पनि मूल प्रतिस्पर्धा दुई ठुला गठबन्धनबिच हुने देखिएको छ । एकतर्फ सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिए, जसमा भारतीय जनता पार्टी र जनता दल (युनाइटेड) मुख्य घटक दलका रूपमा छन् ।
अर्कोतर्फ विपक्षी महागठबन्धन इन्डिया एलायन्स, जसको नेतृत्व राष्ट्रिय जनता दल ले गरेको छ, जहाँ भारतीय काँग्रेस र वामपन्थी दलहरू पनि सामेल छन् ।
हालका मुख्यमन्त्री नीतीश कुमार फेरि पनि एनडीए तर्फबाट मुख्यमन्त्रीका उम्मेदवारका रूपमा चुनावी मैदानमा रहने छन् भने,
अर्कातर्फ तेजस्वी यादव महागठबन्धनका मुख्य विपक्षी नेता तथा मुख्यमन्त्रीका प्रत्याशीका रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
यस पटकको चुनावमा नयाँ राजनीतिक विकल्पको रूपमा प्रशान्त किशोरको 'जन सुराज पार्टी' पनि सशक्त रूपमा मैदानमा उत्रिने तयारीमा छ ।
त्यस्तै आम आदमी पार्टीले पनि सबै २४३ सिटमा उम्मेदवार उठाउने घोषणा गरिसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।राजनीतिक विश्लेषकहरूका अनुसार बिहारमा सत्ता र विपक्षबिचको सङ्घर्ष यसपालि झनै कडा हुने सम्भावना छ, किनभने केन्द्र र राज्य सरकारबिचको सम्बन्ध, रोजगार, मूल्यवृद्धि, र कानून-व्यवस्था जस्ता मुद्दा मतदाताको प्राथमिक एजेन्डा बन्ने देखिएको छ।
नेपालसँग जोडिएका ७ सीमा जिल्लामा २१ सिट
नेपालसँग सिमाना जोडिएका विहारका ७ वटा जिल्ला पश्चिम चंपारण, पूर्व चंपारण, सितामढी, मधुबनी, सुपौल, अररिया र किशनगञ्जमा हुने निर्वाचनलाई यसपटक विशेष रूपमा संवेदनशील मानिएको छ ।
यी सात जिल्लामा जम्मा २१ वटा विधानसभा क्षेत्रहरू पर्दछन् ।
सीमावर्ती इलाकामा हुने सामाजिक-आर्थिक गतिविधि, पारवहन, सुरक्षा र तस्करी जस्ता विषयले यहाँको राजनीतिमा प्रत्यक्ष असर पार्ने भएकाले यी क्षेत्रहरूलाई निर्णायक सिट का रूपमा हेरिएको छ ।
यी क्षेत्रमा भारतीय सुरक्षा संयन्त्रले नेपाल-सीमा सुरक्षा कडा पारेको बताइएको छ, विशेषगरी हाल नेपालतर्फका राजनीतिक गतिविधि र सामाजिक अस्थिरताका कारण बिहारका सीमावर्ती गाउँहरूमा थप सतर्कता अपनाइएको भारतीय गृह मन्त्रालयले जनाएको छ।
मुख्य दलहरूले उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेका छन् । भाजपाले आफ्नो सङ्गठनात्मक शक्ति र प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतालाई मुख्य नारा बनाएको छ भने आरजेडी नेतृत्वको महागठबन्धनले बेरोजगारी, शिक्षा र मूल्यवृद्धि जस्ता जनजीवनसँग सम्बन्धित मुद्दालाई चुनावी केन्द्र बनाइरहेको छ ।
यसैबीच, नयाँ पुस्ता लक्षित पार्टीहरू जन सुराज पार्टी र आपले युवाहरूमाझ वैकल्पिक राजनीति र 'नयाँ बिहार' को अभियान चलाइरहेका छन्।
विहारको यस पटकको विधानसभा निर्वाचनले केवल राज्यको सत्ता परिवर्तन मात्र होइन, भारतको राष्ट्रिय राजनीतिक समीकरणमा पनि ठुलो प्रभाव पार्ने अनुमान गरिएको छ ।
नेपालसँग प्रत्यक्ष सिमाना जोडिएका क्षेत्रहरूमा हुने मतदाताको रुझानले सीमापारको सामाजिक-राजनीतिक सम्बन्धमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।