धरान : विद्यार्थीहरूको विपद् व्यवस्थापन, अनुशासन, सामाजिक सेवामा नेतृत्व विकासका लागि नेपाल स्काउटको दल नायक सम्बन्धी ३ दिने तालिम शुक्रवार देखी सुरु भएको छ । 
धरानका कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघाले तालिमको उद्घाटन गर्दै उनले स्काउटिङ स्वयंसेवी संस्था मात्र नभई कडा अनुशासन र नेतृत्व विकासको बलियो पाठशाला भएको बताए ।
उनले स्काउटमा ‘हुकुमको तामेली’ कमान्ड पालनालाई उच्च महत्त्व दिइने भएकाले बालबालिका तथा युवाहरूमा स्वअनुशासन, जिम्मेवारी र नेतृत्व क्षमता विकास गर्न सहयोग पुर्‍याउने बताए ।
तालिममा विद्यार्थीहरूलाई विपद् व्यवस्थापन,अनुशासन, नेतृत्व विकास र सामाजिक सेवामा सक्रिय बनाउन प्रशिक्षण दिइने छ । उनीहरूलाई बाढी, आगलागी, पहिरो जस्ता प्राकृतिक विपत्ति, महामारी तथा सामाजिक सेवाका कार्यहरूमा कसरी खटिने र समुदायलाई सुरक्षा प्रदान गर्ने विषयमा व्यावहारिक सीप प्रदान गरिने बताए। 
कार्यक्रममा वक्ताहरूले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देशका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रशिक्षक तथा कोर्स लिडरहरूका अनुसार स्काउटिङ ‘लर्निङ बाइ डइङ’ गरेर सिक्ने विधिमा आधारित छ । यस्तो अभ्यासले भविष्यमा विपद्, महामारी वा आपत्कालीन परिस्थितिमा सामूहिक रूपमा जिम्मेवारी बहन गर्न सहयोग पुग्ने विश्वास गरिन्छ ।
scoot-1