वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ३ को कार्यालयले वडा भित्र रहेका सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) तथा नगर स्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने ४ जना तथा नगर स्तरीय परीक्षामा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने ४ जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । साथै, ५० वर्षको उमेरमा एसइई परीक्षा उत्तीर्ण गर्न सफल बम बहादुर धामीलाई विशेष सम्मान गरिएको वडा अध्यक्ष राजदिप लामा तामाङले जानकारी दिए ।
सम्मानित हुने विद्यार्थीहरूमा महेन्द्र माध्यमिक विद्यालयबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने सरस्वती राई तथा राज श्रेष्ठ, जनता माध्यमिक विद्यालयबाट उत्कृष्ट नतिजासहित उत्तीर्ण हुने प्रेम बस्नेत र युनिसा राई रहेका छन् । त्यसै गरी, जल्पा आधारभूत विद्यालय र बीपी आधारभूत विद्यालयबाट नगर स्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने अस्मि श्रेष्ठ, अपेक्षा तामाङ, सोनिया बनियाँ तथा यमुना भुजेललाई समेत नगदसहित सम्मान गरिएको थियो ।
त्यस अवसरमा वडा भित्र रहेका सामुदायिक विद्यालयहरूलाई पनि एसइई परीक्षाको उत्कृष्ट नतिजाका लागि सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
वडा नं. ३ का अध्यक्ष राजदिप लामा तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख उत्तम राज भारती प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य थिर बहादुर कार्की लगायत विद्यालयका प्रधानाध्यापकहरू,शिक्षकहरू,अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।