धरान : निकै भिडभाडवाला सब्जी बजार नजिक धरान-९ पूर्ण पथमा शुक्रवार लोकल कुखुरा व्यापारी र नगरपालिका प्रहरी बिच कुखुराको खोङगी तानातान चल्यो । यस क्रममा नगर प्रहरीले व्यापारीका कुखुराहरू कब्जामा लिएका थिए ।

उपमहानगरपालिकाको अनुगमनको क्रममा त्यहाँ सडक क्षेत्र मिचेर जथाभाबी कुखुराका खोङगी राखेर बिक्री वितरण भएको पाइएपछि नगर प्रहरीले कुखुरा नियन्त्रणमा लिइएको हो । कुखुरा व्यापारी र नगर प्रहरी बिच छलफल भएपछि भने साँझ कब्जा गरेको कुखुरा फिर्ता गरिएको छ ।

छलफलमा पूर्णपथ क्षेत्रमा अव्यवस्थित रूपमा बिक्री वितरण हुने लोकल कुखुराको अब व्यवस्थित बनाउने व्यवसायीहरूले सहमति गरेका छन् । उपमहानगरपालिका र व्यापारी बिच व्यवसाय व्यवस्थित गर्ने विषयमा ४ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार व्यवसायीहरूले नियमित रूपमा घण्टैपिच्छे सरसफाइ गर्नुपर्ने, व्यवसाय अनिवार्य रूपमा दर्ता गर्नुपर्ने तथा सडकबाट १० फिटभित्र मात्र कुखुरा राखेर बिक्री वितरण गर्न पाउने व्यवस्था गरिएको छ । साथै, व्यवसायलाई थप व्यवस्थित बनाउन एक महिनाभित्र आवश्यक व्यवस्थापन गर्ने सहमति समेत भएको जनाइएको छ ।

छलफल र सहमतिपछि हाललाई व्यवसायीहरूलाई जरिवाना नगरी नियन्त्रणमा लिइएका कुखुरा फिर्ता गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले आगामी दिनमा तोकिएका मापदण्ड पूर्ण रूपमा पालना गर्न व्यवसायीहरूलाई आग्रह समेत गरेको छ ।