इनरुवा : नेपाल कम्युनिस्ट पार्टी एमाले निकट मदन भण्डारी स्मारक संरक्षक समाजको आयोजनामा ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा विचार कार्यशाला सम्पन्न भएको छ।

'नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपाय' विषयक कार्यशालामा एमालेसँग आबद्ध विभिन्न तहका नेता–कार्यकर्ता, वाम बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यशालामा सुबोधराज प्याकुरेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने डा. दिवाकर रेग्मी र गणेश प्रसाद दाहालले कार्यपत्रमाथि टिप्पणी गरेका थिए।

कार्यपत्र प्रस्तुत गर्दै प्याकुरेलले वाम आन्दोलनमा देखिएका नीतिगत, कार्यशैलीगत तथा सङ्गठनात्मक सङ्कटबारे विश्लेषण गरेका थिए। उनले अनुभव, इतिहास र कार्यदक्षताको समायोजनबाट मात्रै भविष्यको वाम शक्ति निर्माण सम्भव हुने धारणा राखे।

टिप्पणीकार रेग्मीले कम्युनिस्ट आन्दोलन निरन्तर सुधारको आन्दोलन भएकाले जनतामुखी भएर अघि बढ्नुपर्ने बताए। दाहालले कम्युनिस्ट आन्दोलन निर्माणमा बुद्धिजीवीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य भगवती चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै कोशी प्रदेश सरकारका मन्त्री राम प्रसाद मेहता, प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र निरा खनाल, इनरुवा नगरपालिकाका पूर्व मेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी कोशी प्रदेश कमिटी सदस्यहरू सुशीला पहाडी, अजय कुर्शियत, राज कुमार दंगाल तथा लोकेश निरौला सहित जिल्ला र नगर तहका नेता-कार्यकर्ताको पनि सहभागिता रहेको थियो।

प्रमुख अतिथि चौधरी र युवा नेता निरौलाले मदन भण्डारी तथा जीवराज आश्रितले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए।

चौधरीले सबै नेता-कार्यकर्तालाई समेटेर अघि बढ्न सके एमाले पुनः देशको प्रमुख शक्तिका रूपमा स्थापित हुन सक्ने बताइन्। उनले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर सङ्गठन सुदृढ बनाउन आग्रह गरिन्।