धरान : स्थानीय स्काउट कार्यालय धरानको व्यवस्थापन तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा लागूपदार्थविरुद्ध सचेतनामूलक प्यानल डिस्कस कार्यक्रम होटेल कञ्चनजङ्घामा सम्पन्न भएको छ ।
स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक अइन्द्र विक्रम बेघा प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा कोशी प्रदेश स्काउट कार्यालयका प्रमुख आयुक्त हेमन्त भण्डारी, प्रदेश स्काउटका शैक्षिक पद्धति आयुक्त सुशील राई, किराँतेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक योगेन्द्र पालुङवा, शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिभा श्रेष्ठ, रोटरी क्लब, लियो क्लब, जेसीज, नगर बालसञ्जाल, अभिभावक, शिक्षक प्रतिनिधि तथा स्काउटका पदाधिकारी, रोभर र रेन्जरहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा धरानका विभिन्न क्षेत्रका सरोकारवालाहरू प्यानलिस्टका रूपमा सहभागी भएका थिए । प्यानलिस्टमा धनरत्न शाक्य, धरान उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख अनन्त राई तथा इलाका प्रहरी कार्यालय धरानका प्रहरी वरिष्ठ नायव निरीक्षक देवीबहादुर कार्की रहेका थिए ।
उनीहरूले लागुपदार्थ प्रयोगकर्ताको स्वभाव, लागुपदार्थतर्फ आकर्षित हुने कारण, उपचार तथा पुनःस्थापनाका विषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा स्थानीय सरकार, सामाजिक सङ्घसंस्था तथा समुदायको सामूहिक प्रयासबाट मात्रै लागुपदार्थमुक्त धरान निर्माण सम्भव हुने निष्कर्ष निकालिएको थियो ।
सामाजिक विकास महाशाखा प्रमुख राईले स्थानीय सरकारले लागुपदार्थ नियन्त्रणका लागि नीति निर्माण तथा समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भएपनि अपेक्षित उपलब्धि हासिल गर्न चुनौती रहेको बताए । सबै पक्षसँग सहकार्य गरेर अघि बढे सफलता प्राप्त गर्न सकिने उनको भनाइ थियो ।
त्यसैगरी मनोचिकित्सक प्रा. डा. शाक्यले मानिस किन लागुपदार्थ प्रयोगतर्फ आकर्षित हुन्छ भन्ने विषयमा गहिरो अध्ययन र खोज आवश्यक रहेको बताए । उनले नियन्त्रणका लागि सामूहिक प्रयास नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गरे ।
प्रहरी वरिष्ठ नायव निरीक्षक कार्कीले नेपालमा लागूपदार्थविरुद्ध रहेको कानुनी व्यवस्था तथा नेपाल प्रहरीले हालसम्म गरेका कामकारबाहीबारे जानकारी दिएका थिए । प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूको जिज्ञासाको सामूहिक रूपमा समाधान गरिएको थियो ।
प्रमुख अतिथि बेघाले स्काउटले विज्ञहरूसहित आयोजना गरेको यस्तो कार्यक्रमले धरानलाई लागुपदार्थमुक्त नगर बनाउन सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । समाजका हरेक समस्याको समाधानका लागि स्काउट सक्रिय रूपमा लागिरहेकाले यसको भूमिका थप सान्दर्भिक बन्दै गएको उनले बताए ।
कार्यक्रमको सहजीकरण स्थानीय स्काउट कार्यालय धरानका कार्यालय सचिव सन्तोष कोइरालाले गरेका थिए भने सञ्चालन धरान क्रियुकी असिस्टेन्ट टिम मेट निरुपा वानेमले गरेकी थिइन् ।









































































