इटहरी : सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भरौल सेवा केन्द्रको आयोजनामा 'स्त्री रोग तथा गुप्त रोग सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच शिविर' सम्पन्न भएको छ।
जेठ ९ गते आयोजना भएको स्वास्थ्य जाँच शिविर सहकारीका अध्यक्ष प्रदीप पोखरेलको अध्यक्षता एवम् वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्द कुमारी सुनुवारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शिविरमा वडा नं. ५ का वडाध्यक्ष रोहित काफ्ले विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजित उक्त शिविर वराहक्षेत्र नगरपालिकासँगको सहकार्य तथा समता यूथ ग्रुप र समता गुप्त रोग स्वास्थ्य सेवा संस्थाको प्राविधिक सहयोगमा सम्पन्न भएको संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिए ।
शिविर वराहक्षेत्र नगरपालिका भरौल कालाबञ्जार स्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको थियो । कार्यक्रममा विशेष रूपमा प्राविधिक सहयोग पुर्याउने समता यूथ ग्रुपका कार्यक्रम संयोजक राजीव बस्नेत तथा कार्यक्रमका लागि स्थान उपलब्ध गराउने विद्यालय परिवारप्रति आयोजकले आभार व्यक्त गरेको छ ।
स्वास्थ्य जाँच शिविरमा सहभागिता जनाई सेवा लिनुहुने संस्थाका शेयर सदस्य तथा स्थानीय समुदायप्रति पनि संस्था परिवारले विशेष धन्यवाद ज्ञापन गरेको छ ।
शिविरमा २२० जनाले ओपीडी सेवा लिएका थिए भने १२८ जनाले पाठेघरको मुखको जाँच सेवा लिएका थिए । त्यसैगरी ४२ जनाले ल्याब सेवा, ३४ जनाले औषधि सेवा तथा १८ जनाले माइनर ओटी सेवा लिएको आयोजकले जनाएको छ।









































































