धरान : धरानमा जारी चौथो ‘हाम्रो भेट्रान फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत आइतबार सम्पन्न क्वाटरफाइनल खेलमा विराट भेट्रान फुटबल क्लब मोरङले भरौल भेट्रान क्लब सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा भएको खेलमा विराट भेट्रानले सुरु देखिनै आक्रामक खेल प्रस्तुत गरेको थियो । टोलीको जितमा प्रकाश थापाले दुई गोल गरे । उनले खेलको १५औँ र २२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।यस्तै, खेलको २८औँ मिनेटमा डेली राईले एक गोल थपे भने ५८औँ मिनेटमा देउमान लिम्बुले गोल गर्दै विराट भेट्रानको जित सुनिश्चित गरे ।
भरौल भेट्रानका लागि खेलको १४औँ मिनेटमा भोला सेन ठकुरीले एक गोल फर्काए पनि त्यसपछि भरौल खेलमा फर्किन सकेन । खेल अवधिभर प्राप्त केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा भरौल क्वाटरफाइनलबाट बाहिरिएको हो ।
खेलको म्यान अफ द म्याच बिराट भेट्रानका खेलाडी प्रकाश थापा घोषित भए । उनले नगद १ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा धरान भेट्रान सुनसरी, मिल्स भेट्रान मोरङ, पूर्वेली भेट्रान झापा, हाम्रो इटहरी भेट्रान सुनसरी, भरौल भेट्रान, विराट भेट्रान मोरङ, हाम्रो धरान भेट्रान तथा बेलका भेट्रान रहेका छन् ।
भोलिको खेल आयोजक हाम्रो धरान भेट्रान र बेलका भेट्रान क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।