धरान : धरानमा जारी चौथो ‘हाम्रो भेट्रान फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत सोमबार सम्पन्न क्वाटर फाइनल खेलमा हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा भएको खेलमा आयोजक हाम्रो भेट्रानले सुरु देखिनै आक्रामक खेल प्रदर्शन गरेको थियो । टोलीको जितमा जीवन लिम्बु र पदम राई ले दुई÷दुई गोल गरे ।
जीवनले खेलको ११औँ र ३०औँ मिनेटमा गोल गरेका थिए भने पदमले २५औँ र २९औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए । दोस्रो हाफको ३७औँ मिनेटमा अशोक राईले थप एक गोल गर्दै हाम्रो भेट्रानको जित सुनिश्चित गरे ।
बेकाकालागि ५६औँ मिनेटमा केशव राईले एक गोल फर्काए ।खेल अवधिभर पाएका केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा बेलका क्वाटर फाइनलबाटै बाहिरिएको हो ।
खेलको म्यान अफ द म्याच राकेश राई घोषित भए । उनले नगद 2 हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमा धरान भेट्रान, मिल्स भेट्रान, पूर्वेली भेट्रान, हाम्रो इटहरी भेट्रान, भरौल भेट्रान, विराट भेट्रान, हाम्रो धरान भेट्रान तथा बेलका भेट्रान रहेका छन् ।
भोलिको खेल पूर्वेली भेट्रान र हाम्रो इटहरी भेट्रान बिच हुने आयोजकले जनाएको छ ।