धरान : चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत बिहिवार सम्पन्न सेमिफाइनल  खेलमा पूर्वेली भेट्रानले धरान भेट्रानलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
धरान १६ स्थित रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पूर्वेली भेट्रानका भुपेन लिम्बूले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा धरान भेट्रानका काजी राईले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा पूर्वेली भेट्रानले उत्कृष्ट प्रदर्शन गर्दै धरान भेट्रानलाई ६–५ ले स्तब्ध बनायो ।
खेलको म्यान अफ द म्याच पूर्वेली भेट्रानका भुपेन लिम्बू घोषित भए। उनले २ हजार नगद प्राप्त गरे । उनलाई समाजसेवी प्रेम तामाङले पुरस्कार प्रदान गरेका थिए ।
शनिवार हुने फाइनल खेल आयोजक हाम्रो धरान भेट्रान र पूर्वेली भेट्रानबीच धरान रङ्गशालामा दिउँसो ३ः३० बजे हुने आयोजकले जनाएको छ ।