धरान : धरानका विद्यालयहरूबाट एसइई दिएका विद्यार्थीहरू बिच ‘एसईई स्पिकर–२०८३’ सिजन–६ को आज सम्पन्न फाइनले प्रतियोगितामा पब्लिक हाई स्कुलकी तमन्ना बान्तवा राई विजेता घोषित भएकी छन् ।
प्रतियोगितामा सरस्वती माविकी प्रीन्जा विश्वकर्मा फस्ट रनर अप घोषित भइन् । डीपी बिलिभर्स इङ्लिस स्कुलकी खुसी लिम्बू सेकेन्ड रनर अप र जेम सेकेन्डरी बोर्डिङकी पूजा बान्तवा राई थर्ड रनर अप घोषित भइन् । प्रतियोगिता र्याडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको हो ।
प्रतियोगिताको छैटौँ संस्करण यसपाली परम्परागत भन्दा फरक बनाउँदै दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा सहभागीहरूले ‘सामाजिक सञ्जाल: अवसर कि चुनौती ?’ युवा र राष्ट्र प्रेम, देश विकासका लागि शिक्षा कि सीप ? विषयमा आफ्नो भनाई राखेका थिए ।
प्रतियोगिताको फाइनलमा विद्यार्थीहरूले लोकतन्त्र संसदीय अभ्यास गर्दै शिक्षा नीतिमा बहस गरे । धरान–८ सहिद स्मृति मावि सभा हल डमी संसद् बनेको थियो । विद्यार्थीहरूको बहसपछि ‘विद्यालय शिक्षा विधेयक–२०८३’ बहुमतले पारित गरिएको अभ्यास गरेका थिए ।
नमुना संसदमा सहभागी विद्यार्थीहरूले सभामुख, प्रधानमन्त्री, मन्त्री र सांसदको भूमिका गरेका थिए । दोस्रो चरणमा शिक्षा मन्त्री प्रीन्जा विश्वकर्माले संसदमा विधेयक पेश गरेकी थिइन् । सभामुख तमन्ना बान्तवा राईले संसद् सञ्चालन गरिन् । प्रधानमन्त्रीको भूमिकामा खुसी लिम्बूले विशेष सम्बोधन गरेकी थिइन ।
छलफलका क्रममा सांसद पूजा बान्तवा राईले समय कम दिइएको भन्दै नियमापत्ति जनाएपछि सभामुखले थप एक मिनेट समय उपलब्ध गराएकी थिइन । डमी संसदीय अभ्यासले प्रतियोगितालाई फरक र रोचक बनाएको थियो ।
समापनमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले प्रतियोगिताले किशोर किशोरीलाई लोकतन्त्रीक प्रक्रियामा चासो, बहसको संस्कार र नेतृत्वबारे व्यवहारिक अनुभव दिने बताए ।
प्रधानाध्यापक राम विष्टले विद्यार्थीहरूको प्रस्तुति परिपक्व र प्रभावशाली रहेको प्रतिक्रिया दिए । प्रतियोगिताकी विजेता तमन्ना बान्तवाले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् ।









































































