धरान : रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जित्दै लगातार दोस्रोपटक च्याम्पियन बन्ने इतिहास रचेको छ।
आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधिमाथि पुनः कब्जा जमाएको हो।
१५६ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर जित हासिल गर्यो। टोलीको जितमा विराट कोहली नायक बने। उनले ४२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित ७५ रन बनाए। भेन्कटेश अय्यरले ३२ रनको महत्वपूर्ण योगदान दिए।
गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कागिसो रबाडा तथा अर्शद खानले समान एक एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। वासिङ्टन सुन्दरले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले। निशान्त सिन्धुले २० तथा जस बटलरले १९ रन जोडे।
बेंगलुरुको बलिङमा रसिख सलाम उत्कृष्ट रहे। उनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। जोश हेजलउड र भुवनेश्वर कुमारले समान २–२ विकेट लिए भने क्रुनाल पाण्ड्याले १ विकेट लिए।
बेंगलुरुले यसअघि पहिलो क्वालिफायरमा पनि गुजरातलाई पराजित गरेको थियो। लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलसम्मको यात्रा तय गरेको बेंगलुरुले उपाधि रक्षा गर्न सफल भयो।
गत संस्करणमा पञ्जाब किङ्सलाई हराउँदै पहिलोपटक आईपीएलको उपाधि जितेको बेंगलुरुले यसपटक लगातार दोस्रो उपाधि जित्दै नयाँ कीर्तिमान कायम गरेको छ। आईपीएल इतिहासमा लगातार दुई उपाधि जित्ने बेंगलुरु तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए।
आईपीएलमा सर्वाधिक पाँच–पाँच पटक उपाधि जित्ने कीर्तिमान चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सको नाममा छ। कोलकाता नाइट राइडर्सले तीन पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले समान एक–एक पटक उपाधि जितेका छन्।









































































