धरान : मारवाडी समुदायबाट सगरमाथा शिखर आरोहण गर्ने पहिलो महिला बनेकी छन् धरानकी चेली ४० वर्षीय प्रीति रातेरिया अग्रवाल । 
उनले २०२६ मई २१, जेठ ७ गते बिहान ५ बजेर ५७ मिनेटमा सगरमाथा शिखरमा पाइला टेकेकी हुन । प्रीतिका अनुसार शिखरमा आधा घण्टा बिताएकी उनलाई बेस क्याम्पदेखि शिखर चढ्न १२ घण्टा लागेको थियो । उनले भनिन् ‘शिखरबाट ओर्लनु त्यो भन्दा दोब्बर २४ घण्टा लाग्यो ।’
द समिट फोर्स प्रालिको व्यवस्थापनमा क्लाइम्बिङ गाइड पासाङ शेर्पा र निमा थिन्थक शेर्पासँगै सगरमाथाको शिखरमा पुगेकी उनको सफलताले मारवाडी समुदायसँगै पर्वतारोहण क्षेत्रमा समेत विशेष चर्चा र गौरवको विषय बनेको छ ।
प्रीतिले सगरमाथा आरोहण गर्ने अभ्यासमा पछिल्ला ३ वर्ष देखी निरन्तर पर्वतारोहण यात्रा गर्दै आएकी थिइन् । दुई वर्ष अघि लोबुचे हिमाल आरोहण गरेकी थिइन् । आरोहण अभ्यासको छोटो अवधिमै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर प्रीतिले इतिहास रचेकी छन् । 
यसअघि सन् २०२५ सेप्टेम्बर २३ मा उनले मनास्लु हिमाल आरोहण गर्दै नेपालकी पहिलो मारवाडी महिला आरोहीको परिचय बनाएकी थिइन् । मई २०२४ मा लोबुचे पूर्वको आरोहणबाट हिमाल यात्रा सुरु गरेकी थिइन् । उनले अफ्रिकाको माउन्ट किलिमन्जारो, मेरा पिक लगायत हिमाल सफल आरोहण गरिन् । 
धरानमा जन्मिएर काठमाण्डौंमा शिक्षा हासिल गरेकी प्रीतिको हिमाल आरोहण प्रीतिको बाल्यकाल देखीको सपना थियो । प्रीतिले भनिन् ‘छोरी मानिसको हिमाल चढ्ने चाहना पुरा हुन्छ हुँदैन असमञ्जमैं थिएँ, तर अभिभावक मारवाडी महिलाहरूको प्रेरणा र प्रोत्साहनले आत्मविश्वास बढेर सफल बन्न सके।’
प्रीतिले सगरमाथा शिखरमा मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको झन्डा फहराएर फर्किइन् । उनका अनुसार आरोहणमा जाँदा मारवाडी महिला मञ्च र युवा मञ्चको झन्डा साथै लगेकी थिइन् । सगरमाथाको शिखरमा पुगेसँगै फहराइन् । 
४० वर्षीय अविवाहित प्रीति सुनसरी मारवाडी समाज काठमाणडौंका अध्यक्ष कमलेशकुमार रातेरिया अग्रवालकी छोरी हुन । उनले आफू प्राणिक र अर्हत योगीका रूपमा पनि पहिलो पटक सगरमाथा शिखरमा पुग्न सफल भएको बताइन् ।
सगरमाथा आरोहणले आफूलाई जीवनको गहिरो पाठ सिकाएको उनी बताउँदै प्रीतिले भनिन् ‘प्रकृति र ईश्वरको अगाडि हामी मानव निकै साना रहेछौँ भन्ने महसुस भयो,साना कुरामा झगडा गर्नु र नकारात्मक सोच राख्नु व्यर्थ रहेछ ।’
हिमालमा त्यसै फैलिएको अवस्थामा मृत शरीर देख्दा मन विचलित भएको बताउँदै उनले गाइडले बचाए पछि आएको साहसले सगरमाथा शिखरतर्फ अघि बढ्न सकेको स्मरण गरिन् । भनिन ‘सेप्टी मलमा हात फुत्किन लाग्दा गाइडले समातेर बचायो,त्यो क्षण निकै डरलाग्दो र जीवनकै ठुलो सङ्घर्षको पाठ हो ।’
तर शिखरमा पुग्ने बित्तिकै बाल्यकालको सपना पूरा भएको अनुभूति भएको उनले सुनाइन । शिखरमा पुगेर उनले विश्व शान्ति र कल्याणका लागि ध्यान तथा प्रार्थना गरेको बताइन् । उनले भनिन् ‘हिमाल चढ्नुभन्दा सुरक्षित रूपमा तल झर्नु अझ कठिन हुने रहेछ ।’
प्रीति विद्यालय जीवनदेखि नै एथलेटिक्स र दौडमा सक्रिय थिइन् । सन २०१२ मा अन्नपूर्ण बेसक्याम्प र २०१३ मा एभरेस्ट बेसक्याम्प ट्रेक गरेपछि उनको हिमालप्रतिको आकर्षण बढेको थियो । पहिलो पटक मेरा पिक आरोहणमा असफल भएपछि उनले जिम ट्रेनिङ, रनिङ र स्ट्रेन्थ अभ्यासलाई निरन्तरता दिइन् ।  सगरमाथा आरोहणपछि जीवनमा ठुलो परिवर्तन आएको प्रीतिको अनुभूति छ । पहिले ससाना कुरामा रिस उठ्ने र चित्त दुख्ने स्वभावमा अहिले शान्ति, धैर्यता र परिपक्वता आएको अनुभव भइरहेको उनका भनाई छ । 
सगरमाथाको सफलतासँगै हिमाल यात्रा जारी रहने उनले बताइन् । आगामी दिनमा विश्वका ८ हजार मिटर भन्दा माथिका हिमाल, सातै महादेशका उच्च शिखर आरोहण गर्ने उनको लक्ष्य छ । हाल उनी हिलारी स्टपेको इन्स्ट्रक्टरका रूपमा समेत सक्रिय छिन । 
उनी भन्छिन् ‘भविष्यमा व्यावसायिक हिमाल आरोहण गाइड बनेर नयाँ आरोहीलाई सहयोग गर्ने र यही क्षेत्रमा करिअर अगाडि बढाउने योजना छ ।’ महिला र नयाँ पुस्तालाई सपना देख्न र त्यसलाई पछ्याउन नडराउन उनी आग्रह गर्छिन् । भन्छिन् ‘सपना जतिसुकै ठुलो भए पनि निरन्तर प्रयास र आत्मविश्वासले पूरा गर्न सकिन्छ ।’
preeti-agrawal-12