विराटनगर : पर्यटनकर्मी तथा लेखक वासुदेव बरालद्वारा लिखित ‘कोशी गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको विराटनगरमा आयोजित विशेष समारोहबिच लोकार्पण गरिएको छ।
पुस्तकको लोकार्पण कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका हुन्। कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, कोशी पर्यटन वर्षका सहसंयोजकद्वय कृष्ण शाह र भविष श्रेष्ठ, होटेल तथा पर्यटन व्यवसायी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
पुस्तक विमोचनपछि बोल्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण र आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले पुस्तकले कोशी प्रदेशका पर्यटकीय गन्तव्य, सम्भावना र अनुभवलाई विस्तृत रूपमा समेटेकाले पर्यटन क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ता र व्यवसायीका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका पर्यटकीय क्षेत्रहरुकाबारे सूक्ष्म ढङ्गले जानकारी प्रस्तुत गरिएको उक्त पुस्तकलाई देशभर तथा पर्यटनसँग सम्बन्धित सबै क्षेत्रसम्म पुर्‍याउन प्रदेश सरकारले आवश्यक भूमिका खेल्ने बताए। साथै उनले पर्यटन क्षेत्रमा थप लगानी गर्न उद्यमी तथा व्यवसायीलाई आग्रह गरे।
कार्यक्रममा बोल्दै कार्कीले पर्यटन प्रवर्द्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे। उनले पर्यटन पूर्वाधार विकासका लागि कम्तीमा एक दशकसम्म राज्यले निरन्तर लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।
पुस्तकका प्रकाशक ओरिएन्टल पब्लिकेशनका प्रबन्धक हरि गौतमले कोशी क्षेत्र अवसर, सम्भावना र चुनौतीको सङ्गम भएकाले यसको समग्र विकासमा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने बताए।
लेखक बरालले आफ्नो कृति पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति, संस्था तथा नीति निर्माताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। पुस्तकको समीक्षा गर्दै कृष्ण शाह र सीमा आवासले कोशी प्रदेशको पर्यटनबारे गहिरो जानकारी प्राप्त गर्न चाहने पाठकका लागि यो पुस्तक सङ्ग्रहणीय र सन्दर्भयोग्य रहेको बताए।
कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनका विविध आयामलाई समेटिएको उक्त पुस्तकले प्रदेशको पर्यटन विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
koshi 2