वराहक्षेत्र : असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले वराहक्षेत्र नगरपालिकाका दर्जनभन्दा बढी बस्ती डुबानमा परेपछि स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला निकायहरूको समन्वयमा उद्धार, राहत र उपचार कार्य सञ्चालन गरिएको छ।
विशेषगरी वडा नं. ३ नडाहा र इक्राई, वडा नं. ४ प्रतापपुर, वडा नं. ६ ठाकुरवारी, वडा नं. ९ राजावास र वडा नं. १० स्कुल पछाडिका क्षेत्रहरू जलमग्न बनेका थिए। अन्य प्रभावित क्षेत्रको दैनिकी सामान्य हुँदै गए पनि वडा नं. ४ र वडा नं. ११ का बासिन्दाको जीवन अझै कठिन बनेको छ।
वडा नं. ४ का बासिन्दामा स्वास्थ्य समस्या देखिएपछि नगरपालिकाले खाद्यान्न वितरणसँगै स्वास्थ्यकर्मीमार्फत उपचार, औषधि वितरण, सरसफाइ र खानेपानी सचेतना कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यमा नगर प्रमुख रमेश कार्की, वडा अध्यक्ष आशाराम चौधरी, जनस्वास्थ्य निरीक्षक उमेश मेहता र भरौल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू संलग्न भएको स्थानीय गिरिजा साहले बताए।
वडा नं. ११ का डुबान पीडितलाई उद्धार गरी स्थानीय जनता मावि र कार्यपालिका सदस्य पंकज महतोको घरमा सुरक्षित बासको व्यवस्था नगरपालिकाले मिलाएको हो। उद्धार कार्यमा नगर प्रमुख कार्की, वडाका जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुँवरको टोली सक्रिय रहेको मधुवनका स्थानीय अजय गुप्ताले जानकारी दिए।
त्यस्तै, वडा नं. ६ ठाकुरवारीका प्रभावितका लागि खाद्यान्न तथा त्रिपाल रेडक्रससँगको समन्वयमा वितरण गरिएको वडा अध्यक्ष उद्धव पोखरेलले बताए।
तीन दिनको वर्षाले वराहक्षेत्रको विभिन्न सडक खण्डमा पहिरो खस्दा आवतजावत अवरुद्ध भएको थियो। विद्युत्, इन्टरनेट र खानेपानी सेवा अब सुचारु भइसकेको र पहिरो पन्छाउने कार्य जारी रहेको नगर प्रमुख कार्कीले जानकारी दिए।
उनले वराहक्षेत्र मन्दिर क्षेत्रको समस्या बुझ्न वडा अध्यक्ष किसन मगर र वडा सदस्य कुमार भट्टराईसहित सोमबार बिहान स्थलगत अवलोकन गरेको बताए।
यसअघि जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरेपछि वराहक्षेत्र नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन समिति बैठक बसेर उद्धार, राहत र व्यवस्थापनका तयारी अघि बढाएको थियो।
निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढे पनि मानव क्षति भने भएको छैन। केही पशु चौपायाको क्षति भए पनि सुरक्षा निकाय र स्थानीय सरकारको सक्रियतामा यात्रु उद्धार, राहत वितरण र सुरक्षित बासको व्यवस्था सफलतापूर्वक गरिएको स्थानीयहरूले जनाएका छन्।
Baraha-uddar