धरान : ताप्लेजुङबाट आज शनिवार बिहान धरान आउँदै गरेको मे १ ज ३०५५ को जिप पाँचथरको कुम्मायक-३ कात्तिकेमा तमोर नदीमा खस्दा घाइते मध्ये गम्भीर ५ जनालाई वीपी प्रतिष्ठानमा उपचारका लागि ल्याइएको छ ।
प्रतिष्ठान स्थित प्रहरी विटले जनाए अनुसार घाइतेहरू मध्ये एक बालक बाहेक कोही पनि बोल्न सक्ने अवस्थामा छैनन् । उनीहरूलाई भर्खर उपचारका लागि इमर्जेन्सीमा ल्याइएको हो ।
घाइतेहरूमा मिक्लाखोला गाउँपालिका–४ की २५ बर्षिया मनु साँवा लिम्बु, मिरिङदिन गाउँपालिका-५ का २२ बर्षिया महेश लिम्बु, मिक्वाखोला गाउँपालिकाऽ साँवा कालीखोलाका ७ बर्षिया बालक अनिश लिम्बु रहेका छन् ।
यस्तै ताप्लेजुङ जिल्ला मिरिङदिन गाउँपालिका-५ का २५ वर्षिया विमल लिम्बु, सुनसरी जिल्ला इटहरी-७ का ३५ वर्षीय महेश गुरागाईँ छन् । टाउको चोट लागेको विमल लिम्बुको अवस्था गम्भीर छ । टाउको, छाती, अनुहारमा चोट लागेको मनु सावा लिम्बुको अवस्था पनि गम्भीर छ ।
महेश लिम्बुको दायाँ आँखा ,टाउकोमा, निधारमा चोट लागेको छ । ७ वर्षीय अनिश लिम्बुको दायाँ, खुट्टाकोमा चोट अवस्था रहेको छ । घाइतेहरू मध्ये बालक अनिश मात्र बोल्न सक्ने अवस्थामा छन् ।
दुर्घटनामा ६ को मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताएका छन् । मृतकहरूको नाम सार्वजनिक भएको छैन ।