इटहरी : इलाका प्रहरी कार्यालय इटहरीको भवन भग्नावशेष भएपछि नयाँ कार्यालय स्थापनाको सुरु भएको छ । जेनजी आन्दोलनको क्रममा इटहरीको मुख्य चोक नजिकै रहेको भवन आगलागी भएपछि अस्थायी कार्यालय स्थापना गरिएको हो ।
इटहरीका केही अभियन्ताले जुट विकास अनुसन्धान केन्द्र सँगै रहेको रेसम प्रशोधन केन्द्रको जग्गामा इलाका प्रहरी कार्यालय निर्माण स्थलको बोर्ड नै राखेका छन् । तर त्यस जमिनमा इलाका प्रहरी कार्यालय बनाउने प्रक्रिया भने अगाडी बढेको छैन ।
इटहरी नगर प्रहरीकोलागि निर्माणाधीन भवनमा इलाका प्रहरी उपयुक्त हुने भन्दै स्थानीय व्यवसायी तथा नागरिक समाजले अगुवाइ लिएको भएपनि मेयर हेमकर्ण पौडेलले सहमति नदिएपछि नयाँ संरचनाको खोजी भएको थियो ।
मेयर पौडेलले ९ नम्बर वडाका अध्यक्ष जितेन्द्र थापाको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेर इलाका प्रहरी कार्यालयको पुनर्स्थापनाको पहल अगाडी बढाए । ८ नम्बरका अध्यक्ष रोहित चौधरी, १० नम्बरका अध्यक्ष अवदेश चौधरी सँगै स्थानीय समाजसेवीहरू अनुरोध थापा र सन्तबहादुर डुम्जन सदस्य रहनेगरि अधिकृत डम्बरबहादुर कार्कीलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । सो समितिले अस्थायी संरचना निर्माणको लागि पहल गर्ने र स्थायी संरचना निर्माणको लागि जग्गा खोजविन गर्ने जिम्मेवारी पाएको छ ।
हाल तरहरा चौकीबाटै सेवा प्रवाह गरिरहेको प्रहरीको लागि इटहरी रङ्गशाला सँगै जोडिएका भवनहरूमा व्यवस्थापन गर्नेगरि प्रक्रिया अगाडी बढाइएको छ । जीवन विज्ञानले योग प्रयोगशालाको लागि प्रयोग गर्दै आएको भवनमा हिरासत निर्माणको काम धमाधम भइरहेको छ । हिरासत देखि केही दक्षिणमा रहेको अर्को नयाँ भवनमा प्रहरी अधिकृतको अस्थायी कार्यकक्ष तयार हुँदैछ ।
प्रहरी ब्यारेकको लागि रङ्गशालाको गेटमै रहेको भवनलाई प्रयोग गर्ने सहमति भएको छ । स्थायी संरचना तयार नभएसम्मका लागि सोही स्थानमा इलाका प्रहरी कार्यालय रहने बताइएको छ । यसअघि तरहरा चौकी सँगै रहेको वन डिभिजनको भवनलाई प्रयोग गर्ने चर्चा चलेपनि प्रक्रिया लामो हुने भएकाले रङ्गशालामा रहेका भवनहरू उपयोग गर्ने गरी तयारी भएको हो ।
इलाका प्रहरी कार्यालयमा रहेका सम्पूर्ण कागजात तथा प्रहरीका बर्दी समेत जलेको हुँदा सम्पूर्ण कुरा नयाँबाटै सुरुवात गर्नुपर्ने अवस्था आइपरेको प्रहरीले जनाएको छ ।