धरान : धरानको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रमा सकारात्मक विचारको निर्माण गर्न दबाब समूहको रूपमा ‘धरान विचार मञ्च’ गठन भएको छ ।

बौद्धिक क्षेत्रका अगुवाहरूको शनिवार धरान-१२ जियउल हक मेमोरियल ट्रष्टको कार्यालयमा भएको छलफलले राजनीतिक दलहरूबाट पृथक् स्वतन्त्र विचार निर्माण गर्न विचार मञ्च गठन गर्ने निर्णय गरेको हो ।

भेलामा मुलुकमा हालै भएको जेन-जी आन्दोलनले गरेको परिवर्तनप्रति सकारात्मक पक्षका बारेमा छलफल भएको थियो । छलफलमा प्रदर्शनकारीबाट भएको तोडफोड, लुटपाट, आगजनीप्रति चिन्ता प्रकट गर्दै प्रधानमन्त्री सुशीला कार्कीको सरकारबाट घोषित कार्य पुरा गरिनेप्रति सकारात्मक धारणा प्रकट भएका थिए ।

भेलाको सर्वसम्मतिमा मञ्चका अध्यक्ष डा.आनन्द आचार्य चयन भएका छन् । उपाध्यक्ष डा.खालि हुसैन हक, सचिव विजय श्रेष्ठ, कोषाध्यक्ष रुक्मिणी मास्के चयन गरेको छ । प्रवक्ता वीरेन्द्र थापा रहेका छन् ।

छलफलमा उपस्थित सहभागीहरू तदर्थ समितिको सदस्य रहेका छन् । आर्थिक विश्लेषक कृष्ण अग्रवाल विदुर राई, डा.जीवनकुमार राई, प्राडा. चन्द्रमणी पोखरेल, सहप्रा.बबिता अधिकारी, पत्रकार किशोर कार्की, मनिष खड्गी, जीवेश्वर झा, विज्ञान गोविन्द श्रेष्ठ, नरेश श्रेष्ठ लगायत छन् ।

सोही भेलाले मञ्चको सल्लाहकारहरूमा धरानका पूर्व मेयरद्वय तिलक राई, मनोजकुमार मेयाङ्वाे, सरला कायस्थ, वंशी मोक्तान लगायतलाई मनोनयन गर्ने निर्णय गरेको छ ।