झापा : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिन तयार हुनेले नेतृत्व गर्ने र बदलिन नचाहने भने बढारिने चेतावनी दिएका छन्।
धुलाबारीमा आयोजित 'जेनजी आन्दोलनमा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली एवम् अबको राजनीति र अबको नेपाल' विषयक अन्तरक्रियामा बोल्दै उनले अहिलेको जनभावना अनुसार काँग्रेसको नेतृत्वमा परिवर्तन हुने बताएका हुन ।
'एउटाले आन्दोलन गर्ने र अर्कोले त्यसको अवसर लिने कुरा असान्दर्भिक हो,' उनले भने, 'सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व अनिवार्य छ। प्रधानमन्त्री सुशीला कार्कीले यो पुस्तालाई सरकारमा ल्याएर छिट्टै पूर्णता दिनुपर्छ, नत्र युवाको बलिदान र आन्दोलनको उपेक्षा हुन्छ।'
शर्माले काँकडभिट्टामा निर्माणाधीन खेलमैदानलाई 'जेनजी आन्दोलन स्मरण रङ्गशाला' नाम दिने र पूर्वी नाकामै जेनजी सहिद स्मारक निर्माण गर्ने उद्घोष गरे। उनका अनुसार, 'पूर्वीद्वारमै सहिद स्मारकसहित रङ्गशाला निर्माण गरेर देश विदेशमा नयाँ सन्देश दिइनेछ।'
पार्टीभित्र संसद् पुनर्स्थापना गर्ने मत रहेको स्वीकार गर्दै उनले आफू भने नयाँ म्यान्डेटको पक्षमा दृढ रहेको बताए।
'२०७९ को म्यान्डेटको औचित्य समाप्त भइसकेको छ, अब नयाँ निर्वाचन बाहेक विकल्प छैन,” उनले स्पष्ट पारे, “संसद् पुनर्स्थापना मेरो समर्थन कहिल्यै हुने छैन।'
शर्माले जेनजी आन्दोलनको मुद्दा हाइज्याक गर्ने र अपहरण गर्ने प्रयास भइरहेको भन्दै सचेत रहन युवालाई आग्रह गरे।
'यो द्वन्द्व बढाउने योजना हो, त्यसैले जेनजी पुस्ता अझ चनाखो बन्नुपर्छ,' उनले चेतावनी दिए। अनमोल जीवन गुम्नु र काख रित्तिनु ह्रदयविदारक भएको उल्लेख गर्दै उनले सरकारको असफलताप्रति क्षमायाचना गरे।
'म मन्त्री थिइनँ भनेर पन्छिन सक्दिन, दोषीलाई कारबाही हुनैपर्छ,' उनले भने। साथै, अबोध बालबालिकामाथि गोली चलाउने आदेश दिनेहरूलाई तत्काल कारबाही गर्न माग गरे। शर्माले तोडफोड र आगजनी भने कहिल्यै स्वीकार्य नहुने प्रष्ट पारे।
मङ्सिरमा महाधिवेशन गर्ने वा निकासका लागि विशेष महाधिवेशन बोलाउने विषयमा पार्टी बैठकले निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले जेनजी आन्दोलनमा सहभागीलाई काँग्रेसको क्रियाशील सदस्यता दिन सुझाव दिए। तोडफोड र आगजनीमा संलग्न कार्यकर्तालाई भने स्थायी रूपमा अयोग्य बनाई पार्टीबाट निष्कासन गर्न निर्देशन दिए।
सुधार केन्द्रदेखि चिया पसलसम्म आवश्यक रहेको उल्लेख गर्दै उनले आफ्ना व्यक्तिगत जीवनबारे पनि प्रष्ट पारे।
'संसद् भवन, सिंहदरबार वा सर्वोच्च अदालत जलेको देख्दा आफ्नै घर जल्दा पनि सामान्य मान्छु,' उनले भने, “मैले भ्रष्टाचार गरेको छैन, लाभको पदमा बसेको छैन। धुलाबारीमा बनाएको घरको पैसा कहाँबाट आयो भनेर खोज्नै हो भने धुलाबारी मोडको कृषि विकास बैङ्क जानुपर्छ।”
अन्तरक्रियामा युवा र पार्टीका विभिन्न तहका २६ जनाले आफ्ना धारणा राखेका थिए। उनीहरूले आवश्यकता परे पार्टी विभाजन गरेर भए पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नेतृत्व लिनुपर्ने सुझाव दिएका थिए।