धरान : बदलिएको राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसमा विशेष अधिवेशन वा कार्यवाहक नेतृत्वको चर्चा चलिरहेको बेला सुनसरी-१ क्षेत्रीय समितिले पार्टीको वर्तमान केन्द्रीय समितिको पदावधि मङ्सिरमा सकिने भएकोले १५ औँ महाधिवेशनबाटै निर्णय गर्न माग गरेको छ ।
उक्त माग क्षेत्रीय समितिको शनिवार बसेको विशेष बैठकले गरेका सभापति सुजेन्द्र तामाङले बताएका छन् । उनका अनुसार काँग्रेसको विधान बमोजिम १४ औँ महाधिवेशनबाट आएका सबै तहका कार्यसमितिको ४ वर्षे कार्यकाल २०८२ मङ्सिरमा सकिदैछ ।
विधान अनुसार निर्धारित समयमा नियमित महाधिवेशन गरिए विशेष महाधिवेशन आवश्यक छैन । नियमित महाधिवेशन हुन नसक्ने परिस्थितिमा मात्र विधानको धारा १७ उपधारा ९२० बमोजिम विशेष महाधिवेशन नीति र नेतृत्व परिवर्तन गर्ने व्यवस्था रहेको उनले बताए ।
बैठकले जेन-जी पुस्ताले भ्रष्टाचारको अन्त्य र वाक स्वतन्त्रताको पक्षमा गरेको आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली र परिवारजनमा शोक समवेदना प्रकट गरेको छ । घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । ७६ जनाको ज्यान गएको घटनाको निष्पक्ष, सूक्ष्म छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
आन्दोलनमा घुसपैठ गरी भएको निजी तथा सरकारी सम्पत्ति, भौतिक संरचना तोडफोड, लुटपाट र आगजनी गर्नेहरूलाई कडा कारबाही गर्न माग गरेको छ । आन्दोलनको मुख्य माग भ्रष्टाचारको अन्त्य रहेकाले सार्वजनिक पदधारण गरेका सबैको सम्पत्ति छानबिनको माग गर्दै भ्रष्टाचारीलाई कडा कारबाही गर्न माग गरेको छ ।
बैठकले आन्दोलनका नाममा गैरजेन-जीहरुवाट तोडफोड र आगजनी भएको धरान-२ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय पार्टीका सदस्यहरूको सहयोगमा पुनर्निर्माण गर्ने निर्णय गर्दै सोका लागि स्वैच्छिक सहयोग गर्न अपिल समेत गरेको छ ।