इटहरी : नेपाली काँग्रेस विशेष महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने अवस्थामा पुगेको कोसी प्रदेश महामन्त्री उमेश थापाले बताएका छन् ।

२०१४ सालमा समेत विशेष महाधिवेशन पछि आम निर्वाचनमा सहभागी भएर काँग्रेसले बहुमत पाएको इतिहास स्मरण गराउँदै उनले पुनः सोही अभ्यास दोहोर्‍याउनुपर्ने बताए ।

कपुरीन्युज सँग कुरा गर्दै थापाले भने, ‘इतिहासमा कहिलेकाहीँ यस्तो विषम परिस्थिति सृजना हुन्छ जसले नेतृत्व र पार्टीको परीक्षा लिन्छ । नेपाली काँग्रेसले यस्ता बारम्बारका परीक्षामा आफूलाई अब्बल साबित गर्दै आएको छ । जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिलाई सही दिशानिर्देश गर्ने जिम्मा पनि काँग्रेसको हो । त्यसको लागि नयाँ नेतृत्व सहित अगाडी बढ्नुपर्ने हुन्छ।’

नवीन नेपालको वर्तमान परिप्रेक्ष्यलाई मध्यनजर गर्दै मङ्सिर भित्रमा महाधिवेशन गर्न सकिने उनको भनाइ छ । यही नेतृत्वबाट निर्वाचनमा जाने हो भने कार्यकर्तामा उत्साह नहुने र जनतामा विश्वास नहुने उनले दाबी गरे । लोकतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताको रक्षाका निमित्त पनि विशेष महाधिवेशन अपरिहार्य भएको महामन्त्री थापाको तर्क छ ।