वराहक्षेत्र : वराहक्षेत्रमा क्रियाशील साहित्यिक संस्था पूर्वेली साहित्यिक मञ्च ले आगामी कार्तिक ४ गते चौथो संस्करणको कोशी प्रदेशस्तरीय कविता प्रतियोगिता-२०८२ आयोजना गर्ने भएको छ ।

मञ्चका अध्यक्ष सन्तोष चौलागाईंका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती तथा शुभ दीपावली २०८२ को अवसरमा आयोजना हुने सो प्रतियोगितामा कोशी प्रदेशभरिका कविहरू सहभागी हुन पाउनेछन् ।

२०७६ सालदेखि हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको प्रतियोगिताको अघिल्ला तीन संस्करण भव्य रूपमा सम्पन्न भइसकेका छन् । यस वर्षको कार्यक्रमलाई कोशी पर्यटन वर्ष २०८२ लाई समेत सघाउने उद्देश्यले थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने कविले नगद रु. १२ हजार, दोस्रोले रु. ७ हजार, तेस्रोले रु. ४ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले रु. २ हजार सहित प्रमाणपत्र पाउने छन् । साथै उत्कृष्ट २० कविहरूलाई अन्तिम चरणमा वाचनका लागि आमन्त्रित गरिनेछ । निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा त्यही दिन विजेताहरू घोषणा गरिनेछ ।

इच्छुक कविहरूले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गरी कविता पठाउनका लागि purbelism@gmail.com वा scisunsari@gmail.com मा पठाउन सक्नेछन् । साथै ‘Purweli Sahitiyk Manch Chakraghatti’ नामक फेसबुक पेजमार्फत पनि कविता पठाउन सकिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी मञ्चको फेसबुक पेजमार्फत निरन्तर सम्प्रेषण गरिने पनि जानकारी दिइएको छ ।