धरान : यातायातको सुविधा नभएको युगमा बाटुवाहरुका लागि मूलबाटो, गोरेटोतिर बिसौनी, चौतारा बनाउने चलन थियो । दिवङ्गत नातेदारको स्मृतिमा बनाइने चौताराहरू पैदल यात्रीकालागि माइल खुट्टी समेत हुने गर्थ्यो ।
हिजोआज त्यसको ठाउँ बस स्ट्याण्डले लिएको छ । तैपनि चौताराको औचित्य समाप्त भएको छैन । कतिपय पर्यटकीय सार्वजनिक स्थलहरूमा आगन्तुकहरूलाई विश्राम गर्ने ठाउँ बनेको पाइन्न ।
चौताराको त्यही औचित्य पुरा गर्दै धरान-४ खरैनीटारमा निर्माणाधीन ढुंगेकला पार्कमा ८० फिट लामो सेड सहितको चौतारा निर्माण गरिएको छ । यो चौतारा सामाजिक अभियन्ता मोहनकुमार हुक्पाचोङबाङको अगुवाइमा उनकै परिवारको लगानीमा बनेको हो ।
सेउती खोला पारी किनारमा करिब २ बिघा १० कट्ठा क्षेत्रफलमा निर्माणाधीन ढुङ्गेकला पार्कमा ८ फिट सम्मको ठूलाठुला ढुङ्गामा दर्जन बढी प्रतिमाहरू कुँदिएका छन् । गौतम बुद्ध, फाल्गुननन्द देखी सन्दुक रुइत, किरण चेम्जोङ सम्मका प्रतिमा रहेको पार्कमा अवलोकनकर्ताको आवागमन बढेको छ ।
अभियन्ता मोहनकुमारले भने ‘यहाँ आउने मानिसहरू बढेका छन् तर, पार्कमा बिसाउने, घामपानी छल्ने ठाउँ, शौचालय बनेको देखिएन ।’ पार्कमा याक्थुङ/लिम्बु जातिको सांस्कृतिक स्थल विकास गर्ने योजनामा लागेका उनको पहिले पार्कमा आधारभूत काम गर्नुपर्नेमा ध्यान गयो ।
सरकारी बजेट र दाताहरू खोज्ने धुनमा उनी लागेनन् । आफ्नै परिवारका दाजुभाइसँग उनले पार्कमा स्वर्गीय पिता पासाङ हुक्पाचोङबाङ र माता नरमाया हुक्पाचोङबाङको स्मृतिमा धरानमा अहिले सम्मकै लामौ चौतारा बनाउन सल्लाह गरे । पूर्व गोर्खा सैनिक हुक्पाचोङबाङ दाजुभाइमा उनी काइला हुन ।
परिणाम स्वरूप घामपानी छल्ने फाइबरको सेड सहित ८० फिट लामो चौतारा निर्माण भएको हो । पार्कको दक्षिण/पश्चिम छेउमा बनेको चौतारा निर्माणमा अहिले सम्म कुल लागत साढे ८ लाख लागत परेको छ । चौतारामा बस्ने ठाउँ रामेछापबाट ल्याइएको ग्रेनाइट स्टल बिछ्याइएको छ ।
पार्कको निर्माणमा अभियन्ता मोहनकुमार सहित आठ दाजुभाइ दुई बहिनीको योगदान परेको छ । दाजुभाइहरू बमबहादुर हुक्पाचोङबाङ, प्रेमप्रकाश, शेरबहादुर, बौधमान, विनोद, चित्र, महानन्द र लीलानाथ हुक्पाचाेङबाङ छन् । दुई चेलीहरू नन्दकुमारी इस्वो र अमृतकुमारी तुम्बाहाम्फे छन् । चौतारा माथि उनीहरूको दीर्घजीवनको कामना सहित ११ वटा फलामको सिलाम साक्मा राखिएको छ । अभियन्ता मोहनकुमारले भने ‘चौतारा बनेपछि बालबालिका परिवार सहित आउनेहरूलाई समय बिताउने ल्याएको खाजा खाने ठाउँ भएको छ, घामपानीको बेला ओत लाग्ने ठाउँ बनेको छ ।’ उनले पार्कमा शौचालय निर्माणको काम पनि सुरु गरेका छन्।
दक्षिण पश्चिमका कुनामा निर्माण हुने शौचालयमा महिला, पुरुष र अशक्तका लागि ३ वटा शौचालय रहने छ । वडा कार्यालयले पार्कमा पानीको व्यवस्था गरेकोले शौचालयको सरसफाइ सहज हुने उनले बताए । उनका अनुसार शौचालय भने परिवार देखी बाहिरका दाताहरूको प्रायोजनमा बन्न लागेको हो ।