धरान : पूर्वको प्रमुख शक्तिपिठ धरान–१४ विजयपुर स्थित दन्तकाली मन्दिरमा आज सोमवार दिउँसो फूलपाती बढाई सहित वडा दशैं घरमा फूलपाती भित्र्याएको छ ।
मोरङ याङशीला स्थित काली बक्स गुल्मका नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।दुर्गा भवानीको नौ रूपमध्ये ‘कालरात्रि’ स्वरूपको आज विशेष पूजा आराधना गरिन्छ ।
आजकै दिन देशभरका शक्तिपिठहरुमा फूलपाती भित्र्याउने चलन छ । फूलपाती भित्र्याउन दन्तकाली मन्दिरबाट बाजागाजा सहितको टोली पिण्डेश्वर मन्दिर पुगेको ।
पिण्डेश्वरबाट ३ जना पुजारीले खोजेर सङ्कलन गरेको ९ प्रकारका वनस्पति केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेल पत्ताको हाँगो, अशोक र जयन्तीलाई नवपत्रिका फूलपातीकोरुपमा हर्क बढाई गर्दै दन्तकालीमा भित्र्याइएको हो ।
नवपत्रिकालाई विधिपूर्वक डोलीमा राखेर दन्तकाली मन्दिरमा ल्याएर विधिपूर्वक फूलपाती भित्र्याउने अनुष्ठान सम्पन्न भएको मूल पुजारी विश्वराज खनालले बताए ।
नवपत्रिका खोजी गर्न बिहानै ३ जना पुजारी पिण्डेश्वर क्षेत्रमा गएका थिए । फूलपाती भित्र्याउन ल्याइदा बाटामा घर घरबाट स्थानीयले फूलपाती पनि डोलीमा चढाउने गर्छन् ।
मन्दिरमा भित्र्याइएको फूलपातीलाई पूजा गरिने र दशमीको दिन अपराजिताको पूजा सकेपछि विसर्जन गरिने गरिने छ ।
फूलपाती विसर्जन भएपछि मात्र मन्दिरको मुलढोका खोलिने र सर्वसाधारणहरूले दर्शन गर्न पाउने उनले छन् । फूलपाती भित्र्याउन धरान १४ का वडा अध्यक्ष सहित वडासदस्यहरु, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली पनि सहभागी थियो ।