धरान : आज सोमवार फूलपातीको साँझ सम्म धरान हुँदै दशैं मनाउन पूर्वी पहाडी जिल्लाका आआफ्ना थातथलोमा फर्कनेको यात्रुको सङ्ख्या ३ लाख पुग्ने अनुमान गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले भने ‘अष्टमी सम्म दशैं मनाउनेहरू घर पुगिसक्छन् त्यो समेत यात्रुको सङ्ख्या ३ लाख ५० हजार पुग्ने अनुमान गरेका छौँ ।’ यो सङ्ख्या धरानबाट चल्ने र बाहिरबाट धरान हुँदै पूर्वी पहाड जाने यात्रुहरूको सङ्ख्या हो ।
दशैं सङ्घारमा आइपुग्दा धरानको चहलपहल पनि घटको छ । पहाड, तराईबाट धरानमा अध्ययनकालागी आएका, बालबालिका पढाउन, निजी क्षेत्रमा कार्यरत, जागिरे, व्यापार व्यवसाय गर्न बसोबास गर्दै आएकाहरू थातथलो फर्किएपछि बजार प्रायः शून्य बनेको हो।
२०० साना इभि गाडी थपिए
इटहरी, बिर्तामोड, विराटनगरबाट धरान हुँदै साना ठुला दैनिक ५०० देखि ६०० सय गाडी धरान देखि धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा र ताप्लेजुङ, पाँचथर, खोटाङ चलिरहेका छन् । सार्वजनिक यातायातका साधनहरूमा यात्रुको अत्यधिक चाप बढेको संयोजक श्रेष्ठले बताए ।
उनले भने ‘धरान देखि २५ प्रतिशत अन्य ठाउँबाट ७५ प्रतिशत गाडी धरान हुँदै पूर्वी पहाड तिर गइरहेका छन् ।’ उनका अनुसार पहाडतिर जाने गाडीहरूले क्षमताभन्दा बढी यात्रु चढाइरहेका छन् । बसको कमी देखिएको छ । यात्रुलाई सहजताका लागि २०० वटा साना ईभी गाडी भित्रिएका छन् ।
तराईतर्फ जाने गाडीमा भने यात्रुको चाप घटेको उनले बताए । इटहरी हुँदै पनि धेरै गाडी छुट्ने भएकाले धरानबाट मात्र यात्रुको ठ्याक्कै सङ्ख्या निर्धारण गर्न नसकिने श्रेष्ठको भनाइ छ ।
ट्राफिकको तयारी
जिल्ला ट्राफिक कार्यालय धरानका प्रमुख वीरेन्द्र सिंह थापाले भने ‘छोटो दुरीका गाडीहरूले दिनमा दुई पटक सम्म यात्रु ओसार पोसार गरिरहेका छन् ।’ दशैंमा आवत जावत बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा कडाइका साथ चेकिङ भइरहेको उनको भनाई छ ।
सडकमा ट्राफिक प्रहरी तैनाथ गर्दै पहाडी एरिया जाने गाडीहरूमा चेकिङ गर्न जिरोप्वाईटमा सुरक्षा व्यवस्था कडा गरिएको छ । गाडीले क्षमता भन्दा बढी यात्रु तथा लोड बोकेका गाडीहरूलाई क्षमता अनुरूप लोड गर्न चेतावनी दिने काम भइरहेको छ । धरानको आवागमनमा सुरक्षा व्यवस्था गर्न चोक चोकमा ट्राफिक प्रहरी खडा गरिएको प्रमुख थापाले बताए ।
धरानबाट धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा र ताप्लेजुङ, पाँचथरतर्फ यात्रुको चाप अत्यधिक भएकाले कतिपय बस नपाएर ट्रक र जीपमा चढ्न बाध्य पाइएको उनले बताए ।
सबै थातथलो फर्किँदा धरान प्रायः आधा खाली
बढ्दो सहरीकरणका कारण धरानमा पढाइ, व्यवसाय र रोजगारीका अवसरका लागि बसोबास गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । दसैँको बेला भने उनीहरू सबै थातथलो फर्किँदा धरान प्रायः आधा खाली हुने गरेको व्यापारीहरूको भनाइ छ ।
दशैं आउनासाथ धरानको स्वरूप नै फेरिन्छ । सामान्य दिनमा भिडभाडले भरिएको धरान बजार अहिले सुनसान हुँदैछ । पसलहरूमा ताल्चा, डेराहरू बन्द गरी उनीहरू दशैँ मनाउन हिँडेका हुन ।
भानुचोकमा भेटिएका राम लिम्बु दशैं मनाउन भोजपुर घर फर्कँदै थिए । दसैँको मुडमा देखिएका उनले भने ‘वर्षभरि पढाइ र काममा व्यस्त हुन्छौ, दशैंमै मात्र परिवार भेट्ने मौका मिल्छ ।’ बस ढिलै पुगे पनि गाउँ पुग्दा मन हल्का हुने उनको भनाई थियो ।
लिम्बुले भने ‘प्रविधिले हामीलाई नजिक्याएको छ, सामाजिक सञ्जालमा भेट तँ हुन्छ तर भौतिक रूपमा भेट नहुने भएकाले दसैँ नै पर्खनु पर्ने बाध्यता छ ।’ उनी दशैंमा टिका नलाए पनि आमा बाबा आफन्त भेट्न घर गइरहेका हुन ।
धरान-१२ मा कपडा पसल चलाउँदै आएकी रमिला राई भन्छिन् ‘सबै घरतिर लागेकोले बजारमा ग्राहक छैनन् ।’ स्कुल, कलेज छुट्टी भएकाले आफ्ना बच्चा लिएर गाउँ फर्किएको शहरमै बस्नेलाई दसैँ भरि धरान अचम्मै सुनसान लाग्ने उनले बताइन् ।
शहर बिरानो, गाउँ रङ्गिन
धरान कोठीबारीकी माया श्रेष्ठ कोठामा ताल्चा लगाउँदै गाउँतिर लाग्दा हाँस्दै भनिन, ‘धरान त हाम्रो काम र पढाइको थलो हो, दशैंमा गाउँको सम्झना सताउँछ ।’ गाउँको आँगनमा बसेर परिवारसँग टीका थाप्दा मात्र दसैँको मज्जा आउनले उनले बताइन् ।