धरान : दशैंको मुखमा हरियो तरकारीको बजार भाउ आकासिएको छ । धरानमा आइतबार बिहान रायोको साग खुद्रा बजारमा १५० रुपैयाँ मुठा सम्म पुगेको छ । सागको मुठा २५० ग्राम सम्मको हुन्छ । तौलको हिसाबमा उक्त मूल्य प्रतिकेजी ६०० रुपैयाँ सम्म हुन्छ ।
गत महिना कृषि बजारले तरकारीहरूमा विषादीको जाँच गर्दा रायोको साग स्वास्थ्यका लागि हानिकारक हुने स्तरको अत्यधिक विषादी प्रयोग गरेको भेटिएपछि साग नष्ट गरेको थियो । त्यस बेला देखी बजारमा रायोको सागमा कमी आएको छ । रायो सागको कमीका कारण अत्यधिक मूल्य बढेको हो ।
कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यसपालिको दशैंमा पूर्वी पहाडी जिल्लाबाट तरकारीको आपूर्तिमा कर्मी आएको छ । गत वर्ष १ लाख ४९ हजार ५६ मेट्रिक टन, करिब ६ अर्ब ८१ करोड रुपैयाँको हरियो तरकारी-फलफूल कारोबार भएको थियो । यस वर्ष दैनिक औसत २०० मेट्रिक मात्र आएको छ ।
यसमा पूर्वी पहाडी एरियामा उत्पादित हरियो सागसब्जी तरकारी-फलफूल हिस्सा ६९ प्रतिशत रहेको छ । यो प्रतिशत वार्षिक कारोबार १ लाख ४९ हजार ५६ मेट्रिक टन मध्ये हो । भारत सहित अन्य देशबाट आउने आलु सहितका तरकारीको हिस्सा करिब ३१ प्रतिशत छ । यसपालि हरियो तरकारी ४५ हजार ८५० मेट्रिक टन आएको छ ।
उत्पादन घट्नुका कारण
कृषकहरूका अनुसार लगातारको वर्षा, उत्पादनको लागत मूल्य नपाउँदा पूर्वी पहाडमा वर्षेनि तरकारी उत्पादन घट्दै गएको छ । धनकुटाका कृषक नन्दु राईले भने ‘तरकारी खेतीमा लगेको लागत उठ्दैन कतैबाट प्रोत्साहन छैन, प्रतिफल नपाउँदा कृषक खेतीप्रति निरुत्साहित भएको अवस्था छ ।’
धरान कृषि बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र मोरङको उत्तरी क्षेत्रबाट हरियो तरकारी आपूर्ति हुने गरेको छ । भारतबाट फलफूल, प्याज र आलु, बङ्गलादेश र भुटानबाट आलु तथा चीनबाट स्याउ र लसुन आयात हुँदै आएको छ ।
यो वर्ष थोक मूल्य अघिल्लो वर्षको भन्दा घटेको व्यवस्थापक भट्टराईले बताए । उनका अनुसार टमाटर प्रतिकेजी ४५-५५, आलु नयाँ ५०-५५, पुरानो २८-३०, प्याज ३५-३८ र बन्दा १८-२० रुपैयाँमा कारोबार भइरहेको छ ।
भारतबाट आयात बढी
भारतबाट मात्रै यसपालि आलु ७ हजार मेट्रिक टन, प्याज ५ हजार मेट्रिक टन, हरियो तरकारी ९ हजार ५ सय मेट्रिक टन, अङ्गुर ९५० मेट्रिक टन र खजुर ८ हजार ३ सय मेट्रिक टन आयात भएको भट्टराईले बताए ।
त्यस बाहेक बङ्गलादेशबाट ३ हजार मेट्रिक टन आलु, चीनबाट लसुन सहित अन्य ३ हजार मेट्रिक टन, भुटानबाट १५ सय मेट्रिक टन आलु आएको छ । धरानमा तरकारी तथा फलफूल कारोबार अघिल्लो वर्षको तुलनामा झन्डै १५ प्रतिशत घट्ने सम्भावना देखिएको उनको भनाई छ ।
पूर्वी पहाडमा उत्पादन कमजोर हुँदा आयातमा निर्भरता बढेको व्यवसायीहरूको भनाइ छ । व्यापारी रमेश शाहले अघिल्लो वर्षको तुलना गर्दै भने ‘पहाडको उत्पादन आउँदा उपभोक्ताहरूको भिडभाड लाग्थ्यो, यासपाली दसैँ नजिक पनि कृषि बजारमा त्यस्तो उत्साह छैन ।’
मुस्ताङको स्याउ पनि महँगो
दशैंको बेला मुस्ताङ र जुम्लाबाट आउने स्याउको पनि यसपालि मूल्य बढेको छ । गतबर्षको दशैंमा बजारमा खुद्रा प्रतिकेजी १०० रुपैयाँ सम्ममा विक्री भएको स्याउ यसपालि प्रतिकेजी १५० रुपैयाँ पुगेको पाइएको छ ।
व्यवस्थापक भट्टराईका अनुसार यसपालि जुम्लाको स्याउको आपूर्ति घटेको छ । अहिले सम्म २५ टन मात्र आपूर्ति भएको छ । गत वर्ष जुम्लाबाट ६० टन स्याउ आएकोमा यस पटक २५ टन मात्र आएको हो ।
उनका अनुसार अघिल्लो वर्ष चीनबाट स्याउ ३ हजार ३ सय, अनार ६ सय अनार, अङ्गुर ७ सय म्याट्रिक टन र भारतबाट स्याउ २५ सय मेट्रिक टन, अनार ५ सय मेट्रिक टन आयत भएको थियो । व्यवस्थापक भट्टराईले भने ‘यसबर्ष चिन र भारतबाट १० प्रतिशत बढी स्याउ बजारमा ल्याउने तयारीमा छौँ ।’ अघिल्लो वर्ष कुल ५ हजार ८ सय आएको थियो यस वर्ष ६ हजार ३८० केजी भन्दा बढी स्याउ आउँछ ।