धरान : प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाद्वारा धरान नगर अस्पतालको लागि जग्गा फिर्ता व्यवस्था गरिदिन लेखिएको पत्र प्रधानमन्त्रीको सचिवालयले प्राप्त भएको जानकारी दिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको ई–मेल ठेगानामा प्रेषित पत्रमा वीपी प्रतिष्ठानको नाममा गएको पुरानो धरान अस्पतालको जग्गा धरान नगर अस्पतालको नाममा फिर्ता हुने व्यवस्था गरिदिनका लागि कार्यवाहक प्रमुख बेघाले आग्रह गरेका छन् ।
कावा प्रमुख बेघाका अनुसार प्रधानमन्त्री कार्यालय सचिवालयले पत्र प्राप्त भएको जानकारी दिएको छ । उनले भने ‘तर औपचारिकरुपमा जग्गा प्राप्तिका बारे थप केही जानकारी दिएको छैन ।’
सरोकारवाला /अभियन्ताहरूले पुरानो अस्पतालमै नगर अस्पताल स्थापना गर्न दबाब बढाएपछि कावा प्रमुख बेघा ‘सिरियसली’ लागेका छन् । उनले भने ‘जग्गा फिर्ताकै विषयलाई लिएर धरानको प्रतिनिधिमण्डल काठमाडौँ जाने तयारी भइरहेको छ ।’
जग्गा फिर्ताको निर्णय मन्त्रिपरिषदबाट मात्र सम्भव हुने भएकोले प्रधानमन्त्री सम्म एप्रोच पुग्न जरुरी भएको उनले बताए । नगर अस्पताल निर्माणको विषय भएकोले सुनसरी–१ का प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले उनीसँग समन्वय गर्ने प्रयास भइरहेको कावा प्रमुख बेघाले जानकारी दिएका छन् ।
राणा कालमा दाताहरूले जुद्धनगर अस्पतालको नाममा दिएको जग्गा स्वास्थ्य मन्त्रालय अन्तर्गत धरान अस्पतालको नाममा थियो । धरानमा वीपी प्रतिष्ठान स्थापना भएपछि धरान राजनीतिक दलहरूको सहमतिमा उक्त जग्गा प्रतिष्ठानको नाममा गएको हो ।
प्रधानमन्त्रीलाई धरान नगर अस्पतालको जग्गा समस्याको यथार्थ वस्तुस्थिति जाहेर गरिए मन्त्रीपरिषद्को निर्णयबाट जग्गा फिर्ता हुनसक्ने धरानका नगर अस्पताल सरोकारवाला/अभियन्ताहरूका भनाई छ ।
धरानमा भकारी स्कुलको विद्यार्थी शिक्षकलाई चन्द्र संस्कृत माविमा गाभेर त्यहाँ धरान नगर अस्पताल सुरु गर्ने लागेको चर्चा चल्न थालेपछि कार्यवाहक प्रमुख बेघा मार्थी सरोकारवाला/अभियन्ताहरूले पुरानो अस्पतालमै नगर अस्पताल स्थापना गर्न दबाब बढाएका छन् ।
उनीहरूसँगको छलफल लगत्तै कार्यवाहक प्रमुख बेघाले नगर अस्पताल निर्माणका लागि पुरानो धरान अस्पतालको जग्गा पुनः प्राप्त गर्न प्रधानमन्त्री कार्यालयलाई मेलमार्फत पत्र पठाएका हुन ।
पत्रमा नगर अस्पतालको लागि छुटाइएको जग्गा २०७४ सालमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको उल्लेख गर्दै उक्त जग्गा पुनः प्राप्तिका लागि पत्राचार गरिएको जनाइएको छ । नगर अस्पताल निर्माणका लागि उपयुक्त जग्गाको आवश्यकता परेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई औपचारिक पत्र पठाइएको हो।
कावा प्रमुख बेघाले सोमबार चैत्र २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारलाई सम्बोधन गर्दै पठाइएको पत्रमा धरानभित्र स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित नहोस् भन्ने उद्देश्यले नगर अस्पताल स्थापना आवश्यक भएको उल्लेख गर्दे पुरानो हस्पिटलको जग्गा उपलब्ध गराउन अनुरोध पत्र पठाएका हुन ।
पत्रमा नगरपालिकाबाट उपलब्ध हुने आधारभूत स्वास्थ्य सेवा सहज,प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन तथा स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवा बिन्दुको रूपमा काम गर्न नगर अस्पताल स्थापना अपरिहार्य भएको जनाइएको छ। हालसम्म उपयुक्त जग्गाको अभावका कारण नगर अस्पताल निर्माण तथा सञ्चालनमा समस्या भइरहेको पनि पत्रमा उल्लेख गरिएको छ ।
धरान–१ स्थित साबिकको धरान अस्पतालको जग्गामा नगर अस्पताल निर्माण गर्न विभिन्न राजनीतिक दल, सङ्घ–संस्था तथा आम नागरिकबाट सुझाव प्राप्त भएको जनाउँदै उक्त जग्गा २०७४ साल अघिसम्म धरान अस्पतालकै नाममा रहेको ब्यहोरा पत्रमा उल्लेख छ।
मन्त्रीपरिषद्को २०७५ साउन ११ गतेको निर्णयअनुसार उक्त जग्गा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा नामसारी भएको कारण कानुनी समस्या उत्पन्न भएको उल्लेख गर्दै सोही स्थान नगर अस्पतालका लागि उपयुक्त रहेको हुँदा उक्त जग्गा पुनः धरान अस्पतालको नाममा उपलब्ध गराइदिन आवश्यक व्यवस्था मिलाइदिन प्रधानमन्त्री समक्ष अनुरोध गरिएको हो ।