विराटनगर : चैत २८ गतेदेखि सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमी सहित आठ टोलीको सहभागिता रहने भएको छ। प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबले चौथो खेलमा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते झारखण्डको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको उद्घाटन खेलमा पूर्वविजेता झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुनेछ। ट्रफीसहित ११ लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा दोस्रो खेलमा एपीएफ एफसीले सहिद स्मारक ‘ए’ डिभिजन विजेता तथा साबिक उपविजेता चर्च ब्वाइज क्लब सँग खेल्नेछ।

त्यसैगरी तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ।

साबिक विजेता थ्री स्टार क्लब भने यस संस्करणमा सहभागी हुने छैन। अघिल्लो संस्करणमा थ्री स्टारले चर्च ब्वाइजलाई २-० ले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो।

विराटनगरस्थित नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको प्रतियोगिता सहिद मैदानमा दिवारात्री खेलका रूपमा सञ्चालन गरिनेछ। मैदान तयारीको काम तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रवर्द्धनमा कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको छ।

२०१८ सालदेखि सुरु भएको महेन्द्र गोल्डकप २०६७/०६८ पछि विराट गोल्डकपमा रूपान्तरण भएको हो। आयोजक ट्रष्टले यस संस्करणलाई ३८औँ संस्करणका रूपमा गणना गर्ने जनाएको छ।