धरान :नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरानले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस का नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक माथि गरिएको गिरफ्तारी गैर कानुनी रहेको दाबी गरेको छ।
शनिबार एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्क जङ्ग एभेङद्वारा जारी प्रेस वक्तव्यमा ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैर कानुनी रहेको उल्लेख गरिएको छ।
साथै लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्म विपरीत कार्य भएको ठहर गर्दै सम्बन्धित व्यक्तिहरूलाई तत्काल रिहाइ गर्न माग गरिएको छ।
वक्तव्यमा भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि तत्कालीन सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा गठन गरेको आयोगले समेत गम्भीर प्रश्न उठाएको विषय स्मरण गराइएको छ।
आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र न्यायिक सिद्धान्त विपरीत रहेको जनाउँदै निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिएको छ।
नियोजित, निर्देशित तथा गैर कानुनी गिरफ्तारीको विरोध गर्दै एमालेले लोकतन्त्र, कानुनी शासन र मानवअधिकारको रक्षाका लागि संयुक्त पहल गर्न राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई आह्वान गरेको छ।
संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधर दल तथा नागरिकलाई चिन्तित बनाउने गरी भएको उक्त गिरफ्तारीको कानुनी तथा राजनीतिक प्रतिवाद गरिने उल्लेख गर्दै एमालेले लोकतन्त्रको पक्षमा दृढताका साथ अघि बढ्न सबै पक्षलाई आग्रह गरेको छ।
nekpa-emale-bigyapati