वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं. ११ अन्तर्गत मधुवन बजारस्थित प्रहरी चौकी नजिक आधुनिक सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको छ।

नगरपालिकाको पुरानो तथा ऐतिहासिक बजारका रूपमा परिचित मधुवन क्षेत्रमा स्थानीय अगुवा तथा व्यवसायीहरूको माग र आवश्यकता ध्यानमा राख्दै शौचालय निर्माण गरिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए। आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख कार्कीले रिबन काटेर नवनिर्मित शौचालयको उद्घाटन गरेका थिए।

नगरपालिकाको समन्वयमा नेपाल सरकारको खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा मध्यम तथा साना सहरहरूमा सञ्चालन भइरहेको खानेपानी, सरसफाइ, स्वच्छता तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत उक्त शौचालय निर्माण गरिएको हो।

६६.८३ वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालयमा महिला, पुरुष तथा अपाङ्गमैत्रीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। यसको कुल लागत ६७ लाख ५७ हजार ७ सय ७४ रुपैयाँ ३८ पैसा रहेको छ।

उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख कार्कीले यस संरचनाले स्थानीयवासी तथा आगन्तुकहरूलाई सहज, सुरक्षित र स्वच्छ सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष कृष्ण कुमार महतो, वडा सदस्यहरू, स्थानीय समाजसेवी, शैक्षिक तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वडाध्यक्ष महतोले उक्त शौचालयले मधुवन बजार क्षेत्रको सरसफाइ प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।